बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका २ सिल्लेगडाबाट कफलकोट तर्फ गईरहेको ग १ ज ५१९२ नम्बरको बोलेरो जिप शनिबार राती पौने ८ बजे दुर्घटनामा परेको हो । जिप दुर्घटनामा परी अन्दाजी ३३ बर्षीय बीरबहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । मृतक जिप साहुका भाई रहेका बताइएको छ ।
यस्तै दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका जिप चालक दीपक चन्द समान्य घाइते भएका छन् । उक्त जिपमा दुई जना मात्रै सवार रहेको बताइएको छ । जिप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चन्दलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याइएको छ भने मृतकको शव पनि पोष्टमार्टमका लागि जिल्ला अस्पातलमै ल्याइएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।