काठमाडौं । कोरोना महामारी नभएको भए गत जुनमा नेपालले कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेल खेल्ने थियो । कोरोनाले विश्व खेलकुदको क्यालेन्डरलाई नै प्रभावित पारिदिँदा छनोट बाँकी रहेका तीन खेल हुन सकेका छैनन् । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बुधबार मात्रै विश्वकप छनोट र एसियन कप छनोटको संयुक्त छनोट खेलहरू मार्च र जुनमा सक्ने निर्णय गरेको छ ।
एएफसीको सम्भावित तालिकाअनुसार नेपालले विश्वकप छनोटका बाँकी खेल खेल्न अझै पनि तीन महिनाभन्दा बढीको समय छ । सोही विश्वकप छनोटको खेललाई तयारी र लामो समयदेखि खेलाडीहरू प्रशिक्षणविहीन बन्नुपर्दा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरकार र खेलकुदको निकायलाई गुहार्दै बंगलादेशसँगको खेल्ने वातावरण मिलेको छ । नेपाली पुरुष राष्ट्रिय फुटबल टोली अहिले बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेको छ । टोलीले झन्डै एक वर्षपछि शुक्रबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ ।
खेल बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार साँझ ४ः४५ बजे हुनेछ । अर्थात्, कोरोनापछि नेपालमा यही बंगलादेशसँगको मैत्रीपूर्ण खेलबाट नेपाली खेलकुद फर्कँदै छ । नेपालले गत वर्ष मंसिरमा कुवेतसँग विश्वकप छनोटको पाँचांै चरणको खेल खेलेयता अन्तर्राष्ट्रिय खेलविहीन छ । युवा खेलाडीको बाहुल्य रहेको २५ सदस्यीय नेपाली टोली ढाकामा रहेका छन् । यो टोलीका लागि स्तर निर्धारण गर्न खेल हुन सक्नेछ । झन्डै आठ महिना खेल्न नपाएका खेलाडीका लागि यी दुई खेललाई फिटनेसको अवस्था बुझ्ने खेल हुन सक्नेछ ।
खेलअघिको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपल महर्जनले टोलीको प्रशिक्षण राम्रो भएकाले घरेलु टोलीविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताएका छन् । ‘मैत्रीपूर्ण खेलका लागि हामी (नेपाल)लाई निमन्त्रणा गरेकोमा बंगलादेश फुटबल फेडेरेसनलाई धेरै धेरै धन्यवाद । तर, मैत्रीपूर्ण खेलका लागि हामीले थोरै समय पायौं । तर, खेल्न पाउनु नै ठुलो कुरा हो,’ खेलअघिको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक महर्जनले भने, ‘टिमको प्रशिक्षण राम्रो रहेको छ । विश्वकप छनोटका लागि यो खेल तयारी खेल हुनेछ । यो अवस्था निकै चुनौतीपूर्ण अवस्था हो । तर, चुनौती सामना गर्न टोली तयार छ ।’
यस्तै, प्रशिक्षक महर्जनले केही सिनियर खेलाडी चोट र कोरोनाका कारण टोलीमा नरहेको र बंगलादेशमा पनि एक खेलाडीमा कोरोना देखिएको बताउँदै यसले पनि टोलीमा केही प्रभाव पर्न सक्ने बताए । यता, टोलीका कप्तान किरण चेम्जोङले लामो समयपछि फुटबल खेल्न पाउँदा उत्साहित रहेको बताए । ‘मैत्रीपूर्ण खेलका लागि तयारी राम्रै रहेको छ । अहिलेको अवस्थामा खेल्न सहज छैन । यो हाम्रा लागि शारीरिक र मानसिक रूपमा तयार रहन राम्रो अवसर हो,’ कप्तान चेम्जोङले भने । घरेलु टोली बंगलादेश पनि घरेलु मैदानमा सकारात्मक नतिजा निकाल्ने दाउमा हुनेछ ।
टोलीका मुख्य सदस्य रोहित चन्द चोटका कारण टोलीमा समावेश छैनन् । यस्तै अन्य ७ खेलाडी कोरोनाका कारण टोलीमा रहनेछैनन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले १२ कात्तिकबाट प्रशिक्षण थालेको थियो । मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा टोलीको प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका छन् । प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।
नेपाल र बंगलादेश हालसम्म १९ पटक भिडेका छन् । नेपालले ६ खेल आफ्नो पक्षमा पार्दा १२ खेलमा हार बेहोरेको छ । एक खेल बराबरीमा सकिएको छ । बंगलादेशसँग नेपालको सबैभन्दा लज्जास्पद हार सन् १९८४ मा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गतको फुटबलमा रहेको छ । उक्त सागमा भएको दुई खेलमा नेपाल समान ५–० गोल अन्तरको पराजित भएको थियो ।
नेपालको बंगलादेशमाथि सबैभन्दा राम्रो नतिजा पनि सागमै निकालेको छ । दुई पटक नेपालले बंगलादेशलाई ४–२ ले हराएको छ । नेपालले बंगलादेशसँग पहिलो खेल सन् १९८३ मा खेलेको थियो । मर्डेका कपमा नेपाल १–० ले पराजित भएको थियो । त्यस्तै नेपालले पछिल्लोपटक बंगालदेशलाई साफ च्याम्पियनसिपमा २–० ले पराजित गरेको थियो ।
नेपाली टोली: अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ छन् ।