बियोग्राड । स्कटल्यान्ड २२ वर्षपछि अर्काे वर्ष आयोजना हुने युरोकपमा छनोट हुन सफल भएको छ । बिहीबार राति सर्वियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै स्कटल्यान्डले युरोकपमा स्थान सुरक्षित गरेको हो । स्कटल्यान्ड १९९८ पछि कुनै पनि ठूलो प्रतियोगितामा छनोट हुन सफल भएको हो । यस्तै हंगेरी, नर्थ म्यासेडोनिया र स्लोभाकियाले पनि युरोकपमा स्थान पक्का गरेको छ । यससँगै युरोकपमा सहभागी हुनै सबै २४ टोलीको टुंगो लागेको छ ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा तथा थप ३० मिनेटको खेलमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा स्कटल्यान्डले बाजी मारेको हो । पेनाल्टी सुटआउटमा स्कटल्यान्डका लेइग ग्रिफिट्स, कलुम म्याकग्रेगर, स्कट म्याकटोमिने, ओलिभर म्याकब्रुन र केनी म्याकलिनले गोल गरे । सर्वियाका डुसान टाडिक, लुका जोभिक, नेमान्जा गुडेल्ज र एलेक्सान्डर काटाईले गोल गर्दा अन्तिम पेनाल्टीमा एलेक्सान्डर मित्रोभिक चुके ।
त्यसअघि राजको मिटि बियोग्राड सर्वियामा भएको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५२औं मिनेटमा रायन क्रिस्टिले गोल गर्दै स्कटल्यान्डलाई अग्रता दिलाए । उनले कलुम म्याकग्रिगरको पासमा गोल गर्न सफल भएका थिए । ९०औं मिनेटमा स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड लुका जोभिकले गोल गर्दै खेललाई बराबरीमा ल्याउदै सर्वियाको आशा जीवितै बनाएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समय र पेनाल्टी सुटआउटमा धकेलिएको थियो । यससँगै स्कटल्यान्ड इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक रहेको समूह ‘डी’मा परेको छ ।
यस्तै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले आयरल्यान्डमाथि ३–० को सहज जित हात पारेको छ । इंग्ल्यान्डको सहज जितमा ह्यारी मिगुएर, जाडोन सान्चो र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । अब इंग्ल्यान्डले नेसन्स लिगमा बेल्जियम र आइसल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । लिग ‘ए’ २ मा इंग्ल्यान्ड ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बेल्जियमको ९ तथा डेनमार्कको ७ अंक छ । आइसल्यान्ड अंकविहीन छ । यस्तै आयरल्यान्डले वेल्स र बुल्गेरियासँग खेल्दै छ ।
यता, फिफा विश्वकप २०२२ अन्र्तगतको दक्षिण अमेरिकी छनोट अन्तर्गत तेस्रो खेलमा अर्जेन्टिना घरेलु मैदानमा पाराग्वेसँग १–१ को बराबरीमा रोकिएको छ । यस नतिजासँगै अर्जेन्टिना विश्वकप छनोटमा लगातार तेस्रो जित दर्ता गर्नबाट वञ्चित बन्यो । शुक्रबार बिहान भएको खेलको २१औं मिनेटमा पाहुना टोली पाराग्वेले अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र मिगुएल आल्मिरोनलाई लुकास मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । एन्जल रोमेरोले पेनाल्टीमा सहज गोल गर्दै खेलमा पाहुना टोलीलाई अघि बढाए । ४१ औं मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्कायो । ५८औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन । यस बराबरीपछि अर्जेन्टिनाको ३ खेलमा ७ अंक छ । पाराग्वेको ३ खेलमा ५ अंक पुगेको छ ।
समूह विभाजन
समूह ‘ए’ – टर्की, वेल्स, इटाली र स्विट्जरल्यान्ड
समूह ‘बी’ – डेनमार्क, बेल्जियम, फिनल्यान्ड र रसिया
समूह ‘सी’ – नेदरल्यान्ड्स, अस्ट्रिया, युक्रेन र नर्थ म्यासेडोनिया
समूह ‘डी’ – इंग्ल्यान्ड, स्कटल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक
समूह ‘ई’ स्पेन, पोल्यान्ड, स्विडेन र स्लोभाकिया
समूह ‘एफ’ – हंगेरी, फ्रान्स, पोर्चुगल र जर्मनी