कोरोना भाइरस(कोभीड–१९) को संक्रमणपछि सिन्धुपाल्चोकमा सुस्ताएको खेल क्षेत्र विस्तारै चलायमान हुन सुरु भएको छ । स्वास्थ्य मापदण्डप्रति सचेत हुदै विभिन्न क्लब र समुहहरुले खेलकुद प्रतियोगीताहरु सुरु गर्न लागेका छन् ।
संघीय सरकार मातहात रहेको जिल्ला खेलकुद विकास समिति प्रदेश सरकार मातहात गएपछि जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकले पहिलो पटक जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरेको छ ।
कोरोना भाइरस पछि ठप्प रहेको खेल क्षेत्रलाई चलायमन बनाउनका लागि ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शिव देउजाले जानकारी दिए ।
कात्तिक २६ देखि सुरु भएको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगीतामा मेन्स डबल र मेन्स डबल भेट्रान्स गरी दुइ इभेन्टसमा भएको प्रतियोगीता अन्र्तगत मेन्स डबल्समा जिल्लाका २६ र भेट्रान्स डबल्समा १२ टिमको सहभागीता रहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुर्वणलाल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगीता अन्र्तगत मेन्स डबल्सको उपाधि भने चौतारा साँगाचोकगढी नगरपालिका खेलाडीहरु रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठले हात पारेका थिए । त्यस्तै भेट्रान्स डबल्समा मेलम्ची नगरपालिकाका राजन श्रेष्ठ र नबराज भट्टराईले हात पारे ।
मेन्स डबल्सको प्रतिष्पर्धात्मक फाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाका खेलाडीद्धय रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठले बलेफी गाउँपालिकाका खेलाडीद्धय भिम लामा र पुर्ण थापालाई २१–११ र २१–७ को सोझो सेटमा नै पराजीत गरे उपाधि च्याम्पीयन बनेका थिए ।
त्यस्तै भेट्रान्स डबल्समा मेलम्ची नगरपालिकाका खेलाडीद्धय राजन श्रेष्ठ र नवराज भट्टराईले सुनकोशी गाउँपालिकाका खेलाडीद्धय दिनेश थापा र लालकाजी कार्कीलाई २१–१२ र २१–१३ को सोझो सेटमा पराजीत गर्दे उपाधि हात पारेका थिए ।
प्रतियोगीतामा सेमीफाइलसम्म पुग्ने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको थियो । दुवै इभेन्टसमा प्रथम हुने टिमले नगद ३० हजार, ट्रफी,प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए । त्यस्तै उपविजेता दुवै इभेन्टसका खेलाडीहरुलाई नगद १५ हजार ट्रफी,प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए ।
त्यस्तै सेमीफाइनलमा पुग्ने मेलम्ची नगरपालिकाका किसन दुलाल,राजन श्रेष्ठ,बलेफीका अजय तामाङ र राजकुमार तामाङ र भेट्रान्स डबल्समा नातीकाजी कार्की र डम्बर श्रेष्ठ मेलम्चीका नारयणलाल श्रेष्ठ र कुमारबहादुर सापकोटाको टिमलाई नगद ७ हजार ५ सय ट्रफी,प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए ।
विजयी खेलाडीहरुलाई वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवाराज दुलाल,बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री,लिसंखुपाखर गाउँपालिका का अध्यक्ष कमल नेपाल लगायतले पुरस्कार वितरण गरेका थिए । कोरोना पछि वागमती प्रदेशमा खेलकुद क्षेत्र विस्तारै चलायमान हुदै गरेको मन्त्री दुलालले जानकारी दिए ।
वागमती प्रदेशले खेल क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गरेको बताउँदै आगमी वर्ष सिन्धुपाल्चोकका सबै स्थानीय तहमा एक÷एक वटा कर्भड हल निर्माणका लागि बजेट विनियोजन गर्ने बताए ।
स्वास्थ्यको लागि पनि पछिल्लो वर्ष ब्याडमिन्टन खेल प्रति सबै उमेर समुहका युवा युवतीहरुको ‘क्रेज’ रहेको र यसको विकासका लागि स्थानीय सरकारसँग मिलेर प्रदेश सरकारले योजना बनाएर काम गर्ने मन्त्री दुलालले जानकारी दिए ।
वागमती प्रदेश सरकारले गत वर्षदेखि सिन्धुपाल्चोक सदरमुकाम चौतारामा मिनी रंगशाल निर्माण सुरु गरेको छ भने मेलम्ची र बलेफी गाउँपालिकामा कर्भड हल निर्माण भइरहेको छ । जिल्ला खेलकुद विकास समितिले अब बिस्तरै जिल्लाभर अन्य विभिन्न खेलकुदका प्रतियोगीताहरु पनि आयोजना गर्न लागेको अध्यक्ष शिव देउजाले जानकारी दिए । स्थानीय सरकारसँग समन्वय गरेर हामी खेलक्षेत्रलाई चलायमान बनाउँछौ अध्यक्ष देउजाले भने ।