काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले आयोजना गर्ने स्पोर्टस अवाडमा ब्रान्ड स्काइ जोडिएको छ । अवार्डमा यसपटकदेखि राइजिङ प्लेयर अफ दि इयर विधा थप गरिने र त्यसलाई स्काई ब्रान्ड नेपालले प्रायोजना गर्ने एनएनआईपीए अध्यक्ष दीपक श्रेष्ठले जनाए । एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । त्यसको पुरस्कार राशी समान ५० हजार रुपैयाँ रहनेछ ।
राइजिङ प्लेयर अवार्डका लागि स्काई ब्रान्ड नेपालले एनएनआइपिएलाई बार्षिक १ लाख रुपैयाँ उपलब्ध गराउने छ । स्काई ब्रान्ड नेपाल र एनएनआइपिएबीचको सम्झौता ५ वर्षको रहनेछ । एनएनआइपिएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि समान १ लाख रुपैयाँको पुरस्कार जनता बैंकले प्रायोजन गर्दै आएको छ । त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीका लागि समान ५० हजार रुपैयाँ एभरेष्ट तेक्वान्दोले प्रायोजन गर्दै आएको छ ।
अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपिए बर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ । ती उत्कृष्ट खेलाडीले सम्बन्धित संघ र एनएनआइपिएको सहकार्यमा समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अवार्डका अन्य संघ संस्था र व्यक्तिगत रुपमा पनि सहयोग हुँदै आएको छ ।
अवार्ड समारोहमा १ जनालाई खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेलकुद पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिताबाट पुरस्कृत प्रदान गरिनेछ ।
सम्झौता कार्यक्रमअघि स्काइ फिटको औपचारिक उद्घाटन गरिएको थियो । पाँच महिला खेलाडी करातेकी अनु अधिकारी, फुटबलकी अनिता बस्नेत, भलिबलकी रेश्मा भण्डारी, उसुकी निमा घर्ती मगर र ब्याडमिन्टनकी रशिला महर्जनले संयुक्त उद्घाटन गरे ।
थापाथलीस्थित ब्लु बर्ड परिसरमा रहेको स्काइ फिटमा खेलकुद सामाग्री, पोशाक, उपकरणलगायत सामाग्री उपलब्ध छन् । सो अवसरमा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय निर्णायक दीपक थापाले स्काइ फिटको वेभ पोर्टलको पनि उद्घाटन गरेका थिए ।