राजविराज । चित्रगुप्त भगवानको हातमा राखिएको कलम ८५ हजार ५ सय ५५ रुँपैयामा लिलामी भएको छ । उक्त कलम यसपल्ट राजविराज–८ की रश्मि दत्तले सो मुल्यमा खरिद गरेकी हुन् ।
राजविराजस्थित चित्रगुप्त मन्दिरमा आयोजित एक कार्यक्रममा सर्वाधिक रकमको बोली लगाई दत्तले भगवान चित्रगुप्तद्वारा पुजित कलम हात पारेकी हुन् । कलमजिविका रुपमा स्थापित कायस्थ समुदायले विगत ४० वर्षदेखि आफ्ना वंश पिता भगवान चित्रगुप्तको जन्म दिनको अवसर पारेर यसरी कलम पूजा गरी डाक बढावढमा लिलामी गर्दै आएका छन् ।
यसरी बिक्री गरिएको कलमवापत प्राप्त हुने रकम मन्दिरको विकास, व्यबस्थापन र सो समुदायका जेहन्दार विद्यार्थीहरुको छात्रबृतीमा खर्चिने गरिएको चित्रगुप्त सेवा समिति सप्तरीका अध्यक्ष अशोककुमार कर्णको भनाइ छ ।
मन्दिर परिसरमा आयोजित सो कार्यक्रममा यसपल्ट उक्त समुदायका १३ जना जेहन्दार छात्रछात्राहरुलाई जनही २÷२ हजारका दरले छात्रबृति रकम समेत प्रदान गरिएको छ । सृष्टिकर्ता ब्रह्माको इच्छापुत्र चित्रगुप्तको सन्तान भएको मान्यता राख्ने कायस्थ समुदायले विगत ४० वर्षदेखी यस परम्परालाई मान्दै आएको छ ।