काठमाडौं । बंगलादेशसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय पुरुष फुटबल टोली स्वदेश फर्किएको छ । नेपाली टोली बिहीबार दिउँसो नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुलीलगायतका पदाधिकारीले स्वागत गरेका थिए । नेपालले ढाकामा ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’अन्तर्गत घरेलु टोली बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो । दोस्रो मैत्रीपूर्ण गोलरहित बराबरीमा सकिएको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । कतार विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको घरेलु खेल न्युट्रल भेन्युको रुपमा भुटानमा खेलेको थियो । छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसँग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो । अवे खेलअन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो । समूह ‘बी’मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अस्ट्रेलिया रहेको छ ।