नेपालगन्ज । छैटौ संस्करणको धारा नेपालगञ्ज म्याराथनको तयारी पूरा भएको आयोजकले जनाकारी गराएको छ । क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट्सको व्यवस्थापनमा छैटौं धारा नेपालगन्ज म्याराथन शनिबार हुँदै छ ।
कोरोना महामारीका कारण आठ महिनायता नेपाली खेलकुद ठप्प छ । महामारी सुरु भएयता देशभित्र आयोजना हुन लागेको नेपालगञ्ज म्याराथन पहिलो हो । यसबीचमा बंगलादेशमा दुई खेलको मैत्रीपूर्ण फुटबल खेलेर राष्ट्रिय फुटबल टोली बिहीबार नै स्वदेश फर्किसकेको छ । बीचमा ओलम्पिक छनोटको तयारीमा रहेको कराते र अन्य केही खेलको प्रशिक्षण भने भएको थियो ।
म्याराथनमा स्वदेशमा गत वर्ष आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताद्वय किरणसिंह बोगटी र गोपीचन्द्र पार्कीसहित २० भन्दा बढीले धारा नेपालगन्ज म्याराथनमा प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी गराएको छ । सागमा किरणले म्याराथन र गोपीले ५ हजार मिटरमा स्वर्ण पदक जितेका थिए । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ ।
नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन यसपटक नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक छनोटका रूपमा समेत लिएको छ । म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीबाट जानकारी प्राप्त भएको आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष एवम् टिम लिडर टीएस ठकुरीले जानकारी दिए । केएल दुगड ग्रुपअन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहनेछ ।
म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकको विगतमा जस्तै साथ रहनेछ । खेल पोशाक उत्पादन कम्पनी सहास स्पोर्टसले पनि म्याराथनका लागि सहकार्य गरेको छ । कोरोना महामारीका कारण यसपटक मानिसको जमघटमा कोरानाका कारण बढी ध्यान दिने र स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइने बताइएको छ । दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम गर्न अनुरोध गरिएको छ ।
कोरोनाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको आयोजकले जनाएको छ । यसपटक म्याराथन र हाफ म्याराथनको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ । नेपालगन्जको बीपीचोकदेखि सुरु भएर कोहलपुर चौराहा अगाडि पुगेर पुनः बीपी चोकमा पुगेर म्याराथन टुंगिनेछ । बीपी चोकदेखि दौड सुरु भएपछि सडकको एउटा रुट खाली गराउने र ठाउँ ठाउँमा प्रहरी परिचालन गरिनेछ । यसपटक म्याराथनका विजेताले ७५, दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।
म्याराथनको विजेताले गत वर्षको तुलनामा २० हजार रुपैयाँ पुरस्कार बढी पाउनेछन् । महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ । नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौंमा सेनाका नवराज साउद विजेता भएका थिए ।