काठमाडौं । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु-याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको अन्तिम दिन आइतबार उत्कृष्ट १५ करदाताको नाम छनोट गरेको हो ।
आयकरतर्फ आर्थिक वर्ष २०७५-७६ र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ आर्थिक वर्ष २०७६÷७७ लाई आधार मानेर उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको विभागले जनाएको छ । विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमध्येबाट मदिरा व्यवसायी विजयकुमार शाह उत्कृष्ट छानिएका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् ।
मदिरा व्यवसायमा संलग्न शाहको अहिले स्वदेशी मदिरा उत्पादन तथा बिक्रीमा ठूलो व्यावसायिक साम्राज्य छ । स्वदेशी मदिरा उत्पादक व्यवसायी शाहको जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिस्टिलरीलगायत विभिन्न कम्पनी सञ्चालित छन् । हाल शाहका यी कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गरिरहेको छ ।
व्यक्तिगत आयकरतर्फ : विजयकुमार शाह
बैंकिङ क्षेत्रतर्फ: नबिल बैंक
कम्पनीको क्षेत्रतर्फबाट: बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल
विप्रेषणतर्फ: आईएमई रेमिट्यान्स कम्पनी
व्यापार व्यवसायतर्फ: अग्नि इन्कर्पोरेटेड कम्पनी
निर्यात व्यवसायतर्फ: बहुराष्ट्रिय कम्पनी डाबर नेपाल
विशेष उद्योगतर्फ : हिमाल पावर कम्पनी
कृषि तथा पशुपक्षी उद्योगतर्फ: अन्नपूर्ण एग्रोभेट प्रालि
सहकारीतर्फ: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
बिमा व्यवसायतर्फ: नेपाल पुनर्बिमा कम्पनी
शिक्षण सेवातर्फ: मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप नेपाल प्रालि
पर्यटन व्यवसायतर्फ: तारागाउँ रिजेन्सी होटल्स लिमिटेड
मध्यमस्तरीय करदातातर्फ : कामना सेवा बैंक लिमिटेड
मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ: घोराही सिमेन्ट
आराकाहरुको कार्यक्षेत्र तर्फबाट: भीएफ सर्भिसेस (मोरिसस) प्रालि
चार वर्षदेखि लगातार व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर सिद्धार्थ शमशेर राणाले तिर्दै आएका थिए । यस पटक भने शाहले राणालाई उछिनेर गत वर्ष सर्वाधिक कर तिरेको भन्दै सरकारले शाहलाई उत्कृष्ट करतादाका रूपमा सम्मानित गर्न लागेको हो ।
अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीको अध्यक्षतामा आइतबार आन्तरिक राजस्व विभागमा भएको नवौं कर दिवस समापन कार्यक्रममा धेरै कर तिर्नेको नाम घोषणा गरिएको हो । सरकारले हरेक वर्ष १ मंसिरमा राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ ।
तर, यस पटक १ मंसिरमा तिहारको बिदा परेको र कोरोना महामारीका कारण विगतका वर्षमा जस्तो औपचारिक कार्यक्रम भने हुन नसकेको विभागले जनाएको छ । विभागका अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण कम भएपछि औपचारिक कार्यक्रम गरेर वर्षमा सबैभन्दा धेरै कर बुझाएर योगदान पु-याउने उत्कृष्ट करदातालाई सम्मान गरिनेछ ।
गत वर्ष सबैभन्दा धेरै आयकर बुझाएर उत्कृष्ट हुने कम्पनीमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल परेको छ । सूर्य नेपाल कम्पनीले गत वर्ष ५ अर्ब ३१ करोड रुपैयाँ आयकर बुझाएको थियो । यसैगरी, यस कम्पनीले भ्याटतर्फ पनि ३ अर्ब ८७ करोड कर तिरेको थियो ।
विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर बुझाउने उत्कृष्ट करदातामा आईएमई रेमिट्यान्स कम्पनी छनोट भएको छ । जसका कारण सरकारले विदेशबाट सबैभन्दा धेरै विप्रेषण रकम भिœयाउने अग्रणी कम्पनीका रूपमा आईएमई रेमिट्यान्स कम्पनीलाई छनोट गरी सम्मानित गर्न लागेको छ । यसैगरी, व्यापार व्यवसायतर्फ सबैभन्दा धेरै आयकर बुझाउनेमा अग्नि इन्कर्पोरेटेड कम्पनी छनोटमा परेको छ । यो महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हो ।
निर्यात व्यवसायतर्फ सबैभन्दा धेरै आयकर बुझाउनेमा बहुर्राष्ट्रिय कम्पनी डाबर नेपाल छनोटमा परेको छ । त्यसैगरी, सबैभन्दा धेरै आयकर बुझाउने विशेष उद्योगका रूपमा हिमाल पावर कम्पनी उत्कृष्ट घोषित भएको छ । कृषि तथा पशुपक्षी उद्योगमा सबैभन्दा धेरै आयकर तिर्ने अन्नपूर्ण एग्रोभेट प्रालि छनोटमा परेको छ ।
सहकारीतर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड छनोटमा परेको छ । बैंकिङ क्षेत्रतर्फ सबैभन्दा धेरै आयकर बुझाउनेमा नबिल बैंक छनोटमा परेको छ । बिमा व्यवसायतर्फ नेपाल पुनर्बिमा कम्पनी उत्कृष्ट करदातामा छानिएको छ । शिक्षण सेवातर्फ सबैभन्दा धेरै आयकर बुझाउनेमा मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप नेपाल प्रालि छनोटमा परेको छ ।
पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल्स लिमिटेड छनोटमा परेको छ । त्यसैगरी, मध्यमस्तरीय करदातामध्येबाट सबैभन्दा धेरै आयकर बुझाउनेमा कामना सेवा बैंक लिमिटेड छनोटमा परेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ सबैभन्दा धेरै कर बुझाउने उत्कृष्ट करदातामा घोराही सिमेन्ट परेको छ । भीएफ सर्भिसेस (मोरिसस) प्रालिले धेरै आयकर तिरेर उत्कृष्ट कम्पनीमा छानिएको छ । विभागका अनुसार आव २०७५÷७६ मा सबैभन्दा बढी कर बुझाउने कम्पनी सूर्य नेपाल भएको हो ।
नवौं राष्ट्रिय कर दिवस–२०७७ को अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंश बढाउन करका दायरा विस्तार एवं चुहावट नियन्त्रण गर्नु आवश्यक रहेको बताएका छन् । आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले स्वेच्छिक कर सहभागिता बढाउँदै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न आवश्यक रहेको बताए । यसैगरी, अर्थमन्त्री पौडेलले कर परीक्षण, कर अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछ्र्योट जस्ता परिपालनाका विधिलाई थप कडाइका साथ लागू गर्न निर्देशन दिए । अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण र प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्नसमेत निर्देशन दिए ।
करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा र पहुँच विस्तारमा परिणाम देखिने गरी सुधार गर्न उनले आन्तरिक राजस्व विभाग र मातहतका सबै राजस्व कार्यालयलाई निर्देशन दिए । अर्थमन्त्री पौडेलले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गरे ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञालगायतका आवगमनका अवरोधबाट अर्थतन्त्रमा आएको संकुचनको बाबजुद आर्थिक वर्ष २०७६-७७ को राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आवको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व संकलन हुने गरी कर सहभागिता जनाउने करदातालाई धन्यवाद दिए ।
अर्थमन्त्री पौडेलले कर दिवसले कर प्रशासनको आवश्यक ज्ञान र दक्षता अभिवृद्धि गर्नुको साथै कर प्रशासनलाई निष्पक्ष सेवाग्राहीमैत्री भावनाको विकास गर्न उत्प्रेरित गराउन र सुशासनयुक्त तथा पारदर्शी बनाउन सहयोग पु-याएको बताएका थिए ।
आन्तरिक राजस्व कार्यालय बागलुङ ‘वर्षको उत्कष्ट कर कार्यालय
आन्तरिक राजस्व कार्यालय बागलुङ आर्थिक वर्ष २०७६-७७ को उत्कृष्ट कर कार्यालय घोषित भएको छ । आन्तरिक राजस्व कार्यालयले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा बागलुङलाई उत्कृष्ट कर कार्यालयको घोषणा गरेको हो । विभागका अनुसार उत्कृष्ट सूचीको पहिलो स्थानमा बागलुङ प¥यो भने दोस्रो स्थानमा आन्तरिक राजस्व कार्यालय सिमरा रहेको छ । तेस्रोमा आन्तरिक राजस्व कार्यालय धुलिखेल परेको छ । विभागका अनुसार यी कार्यालयले ए ग्रेड प्राप्त गरेका छन् ।