संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको निर्वाचन विश्वकै सर्वाधिक चासोको विषय बन्दछ, यस देशले तैनाथ गर्ने नीतिको कारण विश्व प्रभावित बन्दछ । यस वर्षको यो निर्वाचन धेरै कारणले गर्दा सवैतिर चर्चाको विषय बन्यो । कोभिड–१९ को संक्रमण अमेरिकामा तीव्र भई करिब साढे २ लाख संख्यामा नागरिकको मृत्यु भइराखेको अवस्थामा यस देशका मतदाताले मतदानमा ठूलो उत्साह देखाई अहिलेसम्मकै बढी प्रतिशत मतदान गर्न पुगे । यसरी अत्यधिक ठूलो संख्याले मतदान गर्नुमा दुई उम्मेदवारका बीचको तीव्र प्रतिस्पर्धा नै मूल कारण हो । ट्रम्प प्रशासन धेरै प्रकारले विवादित हुँदै गर्दा एक पक्षीय नागरिकलाई उनको पराजय हुनै पर्ने अवस्थाबाट र ट्रम्पको रिपब्लिकन दलभित्र प्रायः निर्विवाद उम्मेदवार बनेका ठूलो समर्थन आफ्नो दलले गरेकाले जो बाइडेनलाई जित्न ठूलो चुनौतीको सामना गर्नुपर्ने स्थिति थियो । त्यसैले गर्दा प्रतिस्पर्धा अत्यन्त तीव्र बनेकाले मताधिकारको प्रयोग बढी भएको आकलन गरिँदै छ ।
रिपब्लिकन दलभित्र यति राम्रो करिब ९३ प्रतिशतको समर्थन हुँदा पनि अमेरिकी राष्ट्रपतिले दुई अवधि प्रायः सबैले पूरा गरेका अवस्थामा यस दलका लागि ट्रम्पलाई जिताउन पर्ने अवस्था विद्यमान थियो । मानव अधिकार, प्रजातन्त्र र स्वतन्त्रताको ठूलो हिमायती राष्ट्रले निर्वाचन प्रारम्भ हुनुपूर्व नै ट्रम्पले जित सहज हुन्छ । हार सबैलाई असहज हुन्छ, मेरा लागि अत्यन्त असहज हुन्छ भनेका थिए । परिणाम आउनुपूर्व नै आफू पराजित भएमा निर्वाचन परिणाम अस्वीकार गर्ने, पेंसलभोनियामा निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै यस विषयलाई लिएर अदालत जाने तयारी गरेको जानकारी उनको सचिवालयबाट मिल्नुले यस देशको लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारप्रतिको प्रतिबद्धताको धज्जी उडाउने काम भई राष्ट्र नै लज्जित हुने अवस्था सिर्जना भएको छ ।
यस परिस्थितिबाट नेपालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य कर्ण ह्याजुलाई दिनदहाडै भक्तपुरको सडकमा चरम याताना दिँदै मार्दा उनलाई बचाउन प्रयास नगरी हत्या गरिसके पछि देशका प्रधानन्त्री आफंै हत्यारालाई फाँसी दे भन्दै नारा लगाएको घटनाको स्मरण हुन थालेको छ । किनकि ट्रम्प प्रशासनले नै गराएको निर्वाचनमा जो बाइडेनले धाँधली गर्न सक्ने सम्भावना अमेरिका जस्तो मुलुकमा सम्भव हुन सक्दैन । यस निर्वाचनमा ट्रम्पको पराजयका कारणहरू र अब नयाँ राष्ट्रपतिको कार्यकालमा विश्वमा पर्न सक्ने प्रभावको संक्षिप्त विश्लेषण यस आलेखमा गर्ने प्रयास गरिएको छ ।
सन् २०१६ को राष्ट्रपति निर्वाचनमा यस पंक्तिकार संयुक्त राज्य अमेरिकाको यात्रामा थिए । त्यहाबाट प्रकाशित एक जर्नलमा अन्तर्वार्ता दिँदै राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले भनेका थिए । म व्यापारी पेसामा भएको नाताले हरेकपटक राष्ट्रपति निर्वाचनमा दुवै उम्मेदवारहरूलाई खुलेर आर्थिक सहयोग गर्दथे । निर्वाचनपश्चात् राष्ट्रपतिबाट आफ्नो पेसागत फाइदा लिन्थे । चुनावी प्रतिस्पर्धा गर्दाको अवस्थामा यस्ता आपतिजनक अन्तर्वार्ता पढ्न पाउँदा आश्चर्य लागेको थियो । किनकि यो अभिव्यक्तिमा स्वार्थको संघर्ष निहित छ, जुन आफैंमा अपराध हो । पछि उनैलाई अमेरिकी जनताले विजय श्री पहिराउँदा मेरो ती मतदाताहरूप्रतिको सोचाइ नै नकारात्मक बन्न पुगेको थियो । तर अमेरिकामा रहेका साथीभाइहरू भन्दै थिए ट्रम्पको पहिचान अरूले भन्न नै नसक्ने अभिव्यक्ति सहजै दिने कला हो जुन यहाँका नागरिक सत्य वचन बोलेकोमा प्रशंसा गर्दछन् ।
अमेरिकी कार्यक्रम एमसीसीमा सुरक्षाका विषयसमेत समावेश भएको देखिँदा यसलाई विशुद्ध सहयोग प्याकेजका हिसाबले चिन्तन गर्न सक्ने अवस्था छैन
निर्वाचन नतिजा पनि त्यस्तै आयो, निर्वाचन प्रचारप्रसारको समयमा धेरैपटक उनले गैरकूटनीतिक र गैरराजनीतिक असभ्य भाषाको प्रयोग गर्दै गए । अमेरिकाका नागरिकहरू महिलाप्रति अहिले पनि पूर्वाग्रही देखिन्छन् । राष्ट्रपतिजस्तो उच्च पदमा महिलाले जिम्मेवारी पाउनुहँुदैन भन्नेमा उनीहरूको लामो समयदेखिको मनोविज्ञान दह्रोसँग स्थापित भइराखेको छ । हिलारी महिला हुनु, तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको मोनिका लेबंसकीसँगको अनैतिक शारीरिक सम्बन्धका विषयमा उनलाई निर्दोष प्रमाणित गर्न देशव्यापी दौडाहा गरी आफ्ना श्रीमान्को पक्षमा पैरवी गर्नु र अन्य व्यक्तिगत कमजोरी समेतका कारण जनताले ट्रम्पलाई निर्वाचित गराएका थिए । यद्यपि ट्रम्पको भन्दा हिलारीले २९ लाख बढी लोकप्रिय मत पाएकी थिइन् । हिलारीको ट्रम्पको इलेक्टोरल कलेजको संख्या थोरै बढी भई ट्रम्पले बाजी मरेका हुन् ।
राष्ट्रपति निर्वाचित भइसकेपछि आफ्नो देशलाई विश्वमा नै ठूलो उचाइमा पु¥याउन सक्ने सुनौलो अवसर ट्रम्पले प्राप्त गरेकोमा क्रमशः यो अवसर गुमाउँदै गए । असभ्य भाषाको प्रयोग गर्दै विवादास्पद निर्णयहरूको शृंखला नै कायम गर्दा अल्प समयमा नै जनताका बीच आलोचनाका पात्र बन्दै गए । उनका विवादास्पद निर्णयका केही उदाहरणहरू प्रस्तुत गर्नु उपयुक्त देख्दछु । आत्मरतिमा रमाउने प्रकृतिका अनौठा स्वभावका ट्रम्पले आफ्नो व्यापारिक कला कौशलको असली प्रयोग राष्ट्रपति हुँदा पनि गर्दै गए । आफ्ना व्यक्तिगत फाइदामा मात्र केन्द्रित भएर निर्णयहरू हुँदै गए । पूर्वराष्ट्रपति ओबामाले गरेका राम्रा निर्णय क्रमशः निस्तेज बनाउँदै गए । जलवायुसम्बन्धी पेरिस सन्धिबाट अमेरिका पछि हट्यो ।
कोभिड–१९ लाई चिनिया भाइरसको संज्ञा दिँदै उक्त महामारी अमेरिकासम्म नआउने आए पनि सहजै नियन्त्रणमा लिने सस्तो अभिव्यक्ति दिँदै गर्दा उनकै देशमा अत्यधिक संख्यामा यो संक्रमणबाट नागरिकहरूको मृत्यु हुँदै गर्दा कुनै प्रामाणिक आधारको अभावमा विश्व स्वास्थ्य संगठनलाई चिनिया समर्थक भएको र यो अनर्गल प्रचारप्रसार गरी चीनलाई फाइदा दिलाएको आरोप मात्र लगाएनन् । यस विश्व संगठनलाई अमेरिकाले दिँदै आएको सहयोग बन्द गर्ने अदूरदर्शी निर्णय लिन पुगे । इरानले आणविक हतियारहरू बनाउन नपाउने गरी संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, चीन, बेलायत, रसियासमेतको संलग्नतामा भएको सम्झौताबाट अलग्गिने, संयुक्त राष्ट्रसंघको मानवअधिकारजस्ता महत्वपूर्ण अंगबाट बाहिरिने निर्णय लिन पुगे । चीनसँगको सम्बन्धमा तिक्तता बढाउँदै गर्दा यसबाट विश्व प्रभावित हुने सन्दर्भमा हेक्का राख्न सकेनन् ।
यसबाट उनकै देशका नागरिकहरूले थुप्रै संख्यामा रोजगारी गुमाए । सस्तो सामान प्रयोग गर्ने सुबिधाबाट नागरिकहरू वञ्चित हुन पुगे । विश्वभरका लोकतान्त्रिक देशहरू जुन अमेरिकासँग लामो समयदेखि आबद्ध थिए उनीहरूसँग सम्बन्ध बिगार्दै गए । लामो समयदेखि प्रभावकारी रूपमा अस्तित्वमा आइराखेको उत्तर एटलान्टिक सन्धि संगठनका सदस्य राष्ट्रहरूसँग समेत ट्रम्प प्रशासनले सम्बन्ध बिगार्दै गयो । स्रोतसाधनले सबै विषय प्रभाव पार्न सक्दछ भन्ने एकांकी सोचबाट अघि बढ्दै लोककल्याणकारी बजेटमा कटौती गर्न थाले । काला, अल्पसंख्यक एवं महिलाविरुद्ध कडा आलोचनामा पूर्वाग्रही हिसाबले प्रस्तुत हँुदै गए । उनको यो रवैयाबाट रंगभेदका पक्षमा केही हदसम्म मनोविज्ञान बनाएका देशसमेत उत्साहित बने जुन सर्वथा गलत थियो ।
निर्णयमा आफ्नै एकल सोच मात्र राख्ने, तानाशाही प्रवृत्ति राख्दै आफ्नो चरित्र र शैलीअनुसार उत्तर कोरिया, टर्की, ब्राजिलजस्ता अलोकतान्त्रिक देशहरूसँग मित्रता गर्न पुगे । महिलाहरूप्रति बढी आशक्ति राखी उनीहरूको सम्मान गर्न नसक्ने व्यक्तित्व उनकै वाणीहरूबाट प्रस्तुत हँुदै गयो । समग्रमा उनको चरित्रअनुरूप राज्य र शासन प्रवद्र्धित शैलीमा अभ्यस्तता दिँदै नागरिक प्रवद्र्धित शासनको सर्वथा अभाव रह्यो अमेरिकाजस्तो लोकतान्त्रिक देशका लागि यो विलकुल सुहाउने विषय भएन । समग्रमा ट्रम्पको अवधिमा देशको विश्वमा रहेको लोकप्रियतामा नकारात्मक प्रभाव पार्ने काम भयो । यति हुँदा पनि उनले प्राप्त गरेको लोकप्रिय मतका कारणले ट्रम्पलाई अमेरिकाको राजनीतिमा कमजोर मान्ने अवस्था रहेको देखिएन ।
अब तुलनात्मक हिसाबले उदार मानिने लोकतान्त्रिक दलका अत्यन्त विनम्र स्वभावका सबैलाई साथ लिएर हिँड्न सक्ने क्षमता भएका रिबिनेट जोसेफ बाइडन ३० वर्षको रिपब्लिकन दलको इतिहासमा राष्ट्रपतिले दुई अवधि पूरा गर्न नसक्ने व्यक्तिका रूपमा ट्रम्पलाई स्थापित गराउन सफल भएका छन । अब लोकतान्त्रिक देशहरूसँग बिग्रेको सम्बन्धमा सुधार आउनेछ । अमेरिकी र चीन बीचको सम्बन्धमा सभ्य र कूटनीतिक शैलीका आधारमा अगाडि बढ्नेछ । विश्व संस्थाहरूसँगको सम्बन्धमा ओबामाको अवधिसरह नै सुधार हुनेछ । नचाहँदा र पूर्वाग्रह नराख्दा पनि ट्रम्पका निर्णयमा सच्याउनुपर्ने बाध्यता राष्ट्रको हितका लागि अत्यावश्यक हुनेछ ।
आफ्नो दलबाट एसियन मूलकी महिलालाई उपराष्ट्रपतिमा प्रतिस्पर्धा गराई विजय गराउन सकेकोमा अव अल्पसंख्यक, महिलासँगको सम्बन्धमा सुधार आउनेछ । आप्रवासीहरूप्रति राष्ट्रपतिको नीति ट्रम्पको तुलनामा निश्चय पनि नरम हुनेछ । तर यस देशको वैदेशिक सम्बन्धलगायतका महत्वपूर्ण नीतिहरूमा राष्ट्रको स्वार्थमा कहिले पनि समझदारी गरिँदैन यदि प्रत्युत्पादक देखिए मात्र पुनरावलोकन गर्ने चलन छ । त्यसकारण अमेरिकी नीतिमा नयाँ राष्ट्रपतिको आगमनबाट ठूलो परिवर्तन आउँछ भनी अनुमान गर्नु भनेको यस देशको राजनीतिक इतिहासलाई मनन गर्न नसकेको देखिनेछ ।
ट्रम्प प्रशासनले नै गराएको निर्वाचनमा जो बाइडेनले धाँधली गर्न सक्ने सम्भावना अमेरिकाजस्तो मुलुकमा सम्भव हुन सक्दैन
उदाहरणका लागि इन्डोप्यासिफिक स्ट्राटेजीमार्फत् चीनको प्रभावलाई निष्प्रभावी बनाउने नीतिमा कुनै प्रकारको सुधार हुने छैन । किनकि देशको स्वार्थ गाँसिएको र अमेरिकीहरूको भविष्यको विषय भएकाले यसमा कडा नीतिको अवलम्वन हुनेछ । ट्रम्पले नेपालको परिवार नियोजनजस्ता सानातिना कार्यक्रमहरूमा प्रतिवर्ष प्रदान गर्ने सहयोग कटौती गरेकोमा यसलाई निरन्तरता नदिई उदारता प्रदर्शन गर्न सक्दछ । यसका लागि यो परिस्थिति निर्माण गर्ने सामथ्र्य हामीसँग हुनु जरुरी छ । नेपाल अहिले चीन र अमेरिकाको द्वन्द्वमा फस्ने सम्भावना बीआरआई र इन्डोप्यासिफिक स्ट्राटेजीमार्फत प्रवल देखिएकाले यसलाई कसरी सुरक्षित अवतरण गराउन सकिन्छ । त्यसमा अत्यधिक प्राथमिकता दिई कूटनीतिक तीक्ष्णता प्रमाणित गराउन सक्नुपर्दछ ।
नेपाल दुई शक्तिशाली देशहरूका बीचको तनावबाट सिर्जित द्वन्द्वबाट बाहिर निस्किई दुवै देशहरूसँग सुमधुर सम्बन्ध कायम गरी अघि बढ्ने विकल्पको बारेमा गृहकार्यमा जुट्ने सही समय यही भएको छ । यस स्थितिमा शक्तिशाली राष्ट्रसमेत तहसनहस भएका उदाहरणहरू छन् । तत्कालीन सोभियत संघसँग अत्यन्त राम्रो सम्बन्ध रहेको साम्यवादी देश चीनले १९६० देखि शत्रुतापूर्ण सम्बन्ध कायम ग¥यो । संयुक्त राज्य अमेरिकासँग सैनिक सम्बन्ध कायम गरी हात हतियार, प्रशिक्षण र सूचनाहरू प्राप्त ग¥यो । दुवै देशहरूको संयुक्त चपेटामा परी सामना गर्न नसकी सोभियत संघ नै विघटन भयो । यही प्रसंगमा अहिले अमेरिका र भारतका बीच सम्पन्न भएको सैन्य सम्झौताले चीनको प्रभाव विश्वमा रोक्नका लागि भारतीय सहयोगको माध्यमबाट अघि बढ्न खोजेको प्रस्ट भइराखेको छ ।
चीनले आफ्नो तयारी बीआरआईमार्फत गरी राखेको छ । यी दुवै देशहरूका गठबन्धनलाई नेपालले स्वीकार गरिसकेको छ । दुवै देशहरूको स्वार्थ नेपालमा अर्को देशले प्रभाव फैलाई नेपालको भूमि प्रयोग गरोस् भन्ने देखिँदै छ, अमेरिकी कार्यक्रम एमसीसीमा सुरक्षाका विषयसमेत समावेश भएको देखिँदा यसलाई शुद्ध सहयोग प्याकेजका हिसाबले चिन्तन गर्न सक्ने अवस्था छैन । सन् २०३० सम्ममा अमेरिकालाई पछि पार्दै विश्वको सर्वोत्कृष्ट अर्थ व्यवस्था भएको देशका रूपमा स्थापित हुने लक्षका साथ चीन अघि बढेको सन्दर्भमा अमेरिकाले यसलाई रोक्ने, अवरोध सिर्जना गर्ने कार्य गर्ने नै छ । चीन पनि सहजै पछि हट्ने सम्भावना देखिँदैन । यस अवस्थामा रसिया र अमेरिकाको अस्वस्थ प्रतिस्पर्धाको सिकार आजपर्यन्त अफगानिस्तान भए जस्तै नेपाल अप्ठेरोमा पर्न सक्ने सम्भावनालाई आजैका दिनमा समाधानमा पुग्ने गरी दुई देशहरूका बीचको सम्बन्ध कायम गर्नुपर्ने अवस्था छ । संयुक्त राज्य अमेरिकाको नयाँ प्रशासनलाई विश्वस्त बनाउने र यस प्रकारको चक्रव्यूहबाट देशलाई बचाउने जिम्मा वर्तमान शासनमा आइपरेको छ ।
नेपालको कूटनीति यसलाई कति सबलता साथ समाधानमा जुट्न सक्दछ । असली परीक्षण गर्ने उपयुक्त समय यही भएकोले प्रतीक्षाको विषय बनेको छ । तर ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै अदालत पुग्ने उद्घोष गर्दै उनले सहज रूपमा ह्वाइट हाउस नछाडने अभिव्यक्तिसमेत दिनु, त्यहाँको सर्वोच्च अदालतमा रहेका नौ जना न्यायाधीशमध्ये ६ जना ट्रम्पले नियुक्ति गरेका न्यायाधीश भएकाले पनि अदालतले अमेरिकाको लोकतन्त्रप्रतिको प्रतिबद्धताका लागि एकपटक योगदान गर्नुपर्ने अवस्था रहेकाले अमेरिकी नागरिकका साथै विश्वले नै अदालती निर्णयलाई अत्यन्त व्यग्रताका साथ प्रतीक्षा गरिराखेका छन् ।