मड्रिड । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले अपराजित यात्रा कायम राख्दै १० वर्षपछि बार्सिलोनालाई पराजित गरेको छ । २०१० पछि एट्लेटिकोले लिगमा पहिलोपटक बार्सिलोनालाई हराउँदा डिएगो सिमिओनीले पहिलोपटक बार्सिलोनालाई पराजित गर्न सफल भए ।
घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एट्लेटिकोको १–० को जितमा यानिक करास्कोले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए । खेलको चौथो मिनेटमा नै बार्सिलोनाले अग्रता लिने अवसर गुमायो ।
ओस्मान डेम्बेलेको पासमा एन्टोइन ग्रिजमनको प्रहार पोस्टभन्दा माथि गएको थियो । लगत्तै अर्कोतर्फ साउल निगुएजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले विफल पारे । १०औं मिनेटमा एन्जल कोरेराको पासमा मार्कोस लोरेन्टेको प्रहार क्रसबारमा लागेर बहिरिँदा एट्लेटिको अग्रता लिनबाट चुक्यो । १३औं मिनेटमा लियोनेल मेस्सीको चिप प्रहार पोस्टभन्दा थोरैले बाहिरिँदा बार्सिलोना पनि अग्रता लिनबाट चुक्यो ।
४०औं मिनेटमा बार्सिलोनाका कप्तान मेस्सीले अग्रता दिलाउने अर्को अवसर चुकाए । पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा यानिक करास्कोले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए । काउन्टर अट्याकमा अघि बढेको एट्लेटिकोका लागि करास्कोले झन्डै ४० यार्ड टाढाबाट खाली पोस्टमा गोल गरे ।
एन्जल कोरेयाले मिडफिल्डबाट डिफेन्सलाई बिट गरेर दिएको पास लिन निकै अघि बढेका गोलरक्षक टेर स्टेगनलाई करास्कोले नटमेग गरेपछि खाली पोस्टमा गोल गरेका थिए । ५७औं मिनेटमा बार्सिलोनाले खेल बराबरी गर्ने अवसर गुमायो । मेस्सीको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका क्लेमेन्ट लेङलेटले हेडर प्रहार सिधै गोलरक्षक ओब्लाकको हातमा पुग्यो । ८० औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको फ्रिकिक वालमा लाग्दै बाहिरियो ।
त्यसको एक मिनेटपछि नै मेस्सीको क्रसमा ग्रिजमनको हेडर गोलरक्षकले डाइभ दिँदै बचाए । ८९औं मिनेटमा सर्जी रोबर्टोको प्रहार एट्लेटिकोका डिफेन्डरलाई लाग्दै बाहिरियो । यस जितसँगै एटलेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ । एटलेटिकोले ८ खेलमा २० अंक जोड्दा सोसिडाडले एक खेल बढी खेलेको छ । बार्सिलोना भने ८ खेलमा ११ अंकसहित अंक तालिकाको १०औं स्थानमा छ ।
पिके ६ महिना मैदानबाहिर
क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके कम्तीमा ६ महिना मैदानबाहिर रहने भएका छन् । स्पेनिस ला लिगामा शनिबार राति एट्लेटिको म्याड्रिडसँग १–० ले पराजित भएको खेलमा पिकेले चोट बोकेका थिए । वान्डा मेट्रोपोलिटानोमा शनिबार राति एन्जल कोरेरासँग ठोक्किदै घुडामा चोट बोकेपछि ३३ वर्षीय पिकेले खेलको ६२औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थानमा सर्जिनो डेस्ट मैदान छिरेका थिए । उनी कम्तीमा पनि ६ महिना मैदान बाहिर रहने क्लबले जनाएको छ । चोटकै कारण अन्सु फाती, स्यामुयल उम्टिटी र सर्जी रोबर्टाे टोली बाहिर रहँदा पिकेको चोटले बार्सिलोनालाई थप समस्या उत्पन्न हुने भएको छ । स्पेनिस डिफेन्डर पिकेले यस सिजन बार्सिलोनाका लागि यो सिजन १० खेलमा खेलेका छन् ।
रोनाल्डोको दुई गोल
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ४ मिनेटको अन्तरमा दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’अन्तर्गत शनिबार काग्लियारीलाई २–० ले पराजित गरेको छ । खेलको ३७औं मिनेटमा रोनाल्डोले युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । अल्भारो मोराटाले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै रोनाल्डोले दुई डिफेन्डरलाई छलाउँदै गोल गरेका थिए । त्यसअघि फेडेरिको बर्नार्डेस्कीले गोल गरेपनि असिस्ट दिएका मोराटा अफसाइड देखिएपछि रेफ्रीले गोललाई मान्यता दिएनन् । त्यसको ४ मिनेटपछि नै रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर पारे । जुआन क्वाडराडोको कर्नरलाई मेरिह डेमीरालले हेडर गरेपछि आएको बललाई अनमार्क रहेका रोनाल्डोले गोलमा परिणत गरे । दोस्रो हाफमा दुवै टोलीले आक्रमणको प्रयास गरेपनि गोल निस्कन सकेन । यस जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले ८ खेलमा १६ अंक जोडेको छ । शीर्ष स्थानको एसी मिलानले ७ खेलमा १७ अंक बनाएको छ । पराजित कग्लियारी भने ८ खेलमा १० अंक जोड्दै ११औं स्थानमा छ ।
हालान्डको चार गोल
शनिबार मात्रै गोल्डेन ब्वायको अवार्ड जितेका नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले दोस्रो हाफमा चार गोल गरेपछि बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा हर्था बर्लिनमाथि ५–२ को सानदार जित निकालेको छ । डर्टमुन्डको फराकिलो जितमा अर्काे एक गोल राफायल गुरेइरोले गरे । हर्थाका लागि दुवै गोल म्याथुयस कुन्हाले गरेपनि हार टार्न सकेन । यो जितसँगै डर्टमुन्ड ८ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको बायर्न म्युनिखको समान खेलबाटै १९ अंक रहेको छ । पराजित हर्था बर्लिन ७ अंक जोडेर १३औं स्थानमा रहेको छ । जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख घरेलु मैदानमा वेर्डेर ब्रेमेनसँग बराबरीमा रोकिएको छ । बायर्र्न वेर्डेर ब्रेमेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । यो बराबरीसँगै बायर्न ८ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा यथावत् रहेको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्ड र बायर लिभरकुसनको समान १८ अंक छ । ब्रेमेन ११ अंकसहित नवौं स्थानमा रहेको छ ।
टोटेनहमले सिटीलाई हरायो
टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको छ । टोटेनहमको जितमा ह्युङ मिन सन र जिओभानी लो सेल्सोले समान १–१ गोल गरे । खेल अवधिभर सिटीले बल पोसेसनमा पकड जमाउँदै आक्रमणको प्रयास गरे पनि मोउरिन्होको रक्षात्मक रणनीतिसामु पेप ग्वार्र्डिओलाको टोलीले गोल गर्न सकेन । यस जितसँगै टोटेनहमले ९ खेलमा ६ जित, २ बराबरी र १ हारसहित लन्डन क्लबले २० अंक जोडेको छ । पराजित म्यानचेस्टर सिटी भने ८ खेलमा १२ अंक जोड्दै १०औं स्थानमा छ । यस्तै, प्रिमियर लिगकै अर्का खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रुममाथि १–० को झिनो जित निकालेको छ । जितसँगै युनाइटेड ८ खेलबाट १३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ब्रुम ३ अंकसहित १८औं स्थानमा रहेको छ ।