सिन्धुली । कमलामाई नगरपालिकाद्वारा ठेक्का प्रक्रियामा बन्दै गरेको कमलामाई नगरपालिका वडा नंं. ५ को मधुटारदेखि सिलामे जाने सडकको नाला बनि नसक्दै भत्किएको छ । अनुगमनका क्रममा पिचको काम सुरु नहुदै नाला भत्किएको पाईएको हो ।
कमलामाई नगरपालिका सिन्धुलीले कोभिडका कारण असार मसान्तमा सम्पन्न नभई म्याद थप भएका योजनाहरुको अनुगमन गर्ने क्रममा सव वेशको काम हुदै गर्दा सडकको नाला भत्किएको भेट्टाएको हो । नगरपालिका भित्रका करीव एक दर्जन ठूला योजनाको अनुगमन गर्ने क्रममा निर्माणका काम गुणस्तर नभएको पाईएको कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बताएका छन ।
भत्किएको ठाउँमा हातले फुटाएर हेर्दा बालुवा मात्र भेटिएको मेयर खत्रीले बताए । उक्त सडक कालोपत्रेको काम सिकाकहुस्से निर्माण सेवाले ठेक्का लिएको थियो । जसमा नाला र कालोपत्रेको काम भईरहेको छ ।
उक्त निर्माण सेवाले साढे ६ मिटरको सडक २९७ मिटर पिच गर्ने योजना रहेको थियो । उक्त सडकमा नाला निर्माणको काम सकिएको छ भने पिचका लागि सव वेशको काम भईरहेको छ ।
सडकको नाला भत्किएको पाइएपछि मेयर खत्रीले त्यसको गुणस्तर समेत जाँच गरेका थिए । नालाको वालमा १ः४ को अनुपातमा सिमेन्ट प्रयोग गर्नुपर्ने सडक निर्माणको स्टमेटमा उल्लेख गरेको भए पनि हातले फुटाउँदा नै सिमेन्ट वाल फुटेको छ । निर्माणका जानकारहरुका अनुसार १ः४ को अनुपातमा लगाईएको वाल हातले नै फुटाउन सकिने हुदैन ।
कमलामाई नगरपालिका वडा नं. ५ का अध्यक्ष पूर्ण बहादुर खड्काका अनुसार कामको सुरुमै सिमेन्ट र बालुवाको अनुपात नमिलेको पाईएपछि गुणस्तर नदेखिएपछि कामदारहरुलाई सचेत गराईएको थियो । उक्त सडकको साईडमा कमलामाई नगरपालिकाको तर्फबाट प्राविधिक लक्ष्मण कार्कीले निगरानी गरेका छन ।
अनुगमनका क्रममा मंगलबार कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल, लेखा अधिकृत टेकेन्द्र कार्की, प्राविधिकहरु, वडा अध्यक्ष सहितको टोलीले ४ वटा योजनाको अनुगमन गरेको थियो ।
योजनाहरुको अनुगमनपछि कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले योजनाको फरफारकमा काममा गुणस्तरीय सुधार नआएमा भुक्तानी दिन नसकिने बताएका छन । ‘प्राविधिकहरुले सबै काम गुणस्तर युक्त भनेका थिए तर केहि योजनामा त्यस्तो देखिएन’, उनले भने, ‘कामको गुणस्तर र मात्रामा कुनै सम्झौता हुने छैन ।’
कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले विकास निर्माणमा गुणस्तरीयता कायम गर्न अनुगमन गरिएको बताए । उनले गुणस्तरीय काम विना भुक्तानी दिन नसकिने बताए । विग्रिएका काम पुनः निर्माण गरेपछि मात्र विल भुक्तानी हुने उनले बताएका छन । उक्त योजनामा ४० प्रतिशत रकम भुक्तानी दिन बाँकी रहेको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।