मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट सन् २०२० मै विवाह गर्ने तयारीमा थिए । आफ्नो छोरा रणवीरको विवाह हेर्ने बुबा एवं अभिनेता ऋषि कपुरको ठूलो चाहना थियो । तर रणवीर र आलियालाई गत नौ महिनाअघि सुरु भएको कोरोना भाइरसको संक्रमणसँगै भारतमा सुरु भएको लकडाउनले वैवाहिक सम्बन्धमा बाँधिन दिएन ।
अभिनेत्री आलियाले त विवाहका लागि कपडाको डिजाइनदेखि गहनाको सपिङसमेत सुरु गरिसकेकी थिइन् । कोरोनाको महामारी चलिरहँदा क्यान्सरबाट रणवीरका पिता एवं अभिनेता ऋषि कपुरको निधन भयो । केही महिनाबाट मुम्बईमा लकडाउन हटेको भए पनि बुबाको निधनका कारण रणवीरले आलियासँग तत्काल विवाह नगर्ने भएका छन् । आगामी सन् २०२१को अन्त्यतिरसम्म यी दुई दाम्पत्य सम्बन्धमा बाँधिने भएका छन् ।
अभिनेता रणवीर कपुर मात्र हैन, कोरोनाबाट संक्रमणका कारण बलिउडका अरू थुप्रै कलाकारको विवाह रोकिएको छ । जसमध्ये अभिनेता वरुण धवन पनि आफ्नी प्रेमिका नताशासँग सन् २०२० मै विवाह गर्ने योजनामा थिए । उनीहरूको विवाह पनि कोरोना संक्रमणपछि सुरु भएको लकडाउनका कारण रोकिएको हो । आफ्नो फिल्म कुल्ली नम्बर १ को रिलिजपछि वैवाहिक सम्बन्धमा बाँधिने घोषणा गरेका अभिनेता वरुणले आफ्नो विवाह अझै केही समयका लागि सारेका छन् । वरुणको दीर्घायुका लागि पत्नीको रूपमा नतासाले कर्वाचौथका व्रतसमेत लिइसकेकी छन् ।
त्यसैले उनीहरू पनि विवाहको योजनामा छन् । अब उनको विवाह सन् २०२१ मा हुने आशा गरिएको छ । तर, यस विषयमा उनले विवाहको तिथि तोकेका छैनन् ।
अभिनेत्री रीता चढ्डा र अभिनेता अली फजलले पनि सन् २०२० मै विवाह गर्ने घोषणा गरेका थिए । उनीहरूको विवाह पनि कोरोना भाइरसको संक्रमणपछिको लकडाउनले निर्धारित समयमा हुन सकेन । यी जोडीले विवाहका लागि भनेर मुम्बईमा घरसमेत किनी सकेका छन् । यी जोडी नयाँ घरमा बस्दै आएका छन् । यसअघि घोषणा गरेको तिथिमा विवाह गर्न नसकेपछि अब उनीहरू पनि सन् २०२१ मा विवाह गर्ने योजनामा छन् । चाँडै नयाँ मिति घोषणा गर्ने यी दुईले बताएका छन् ।
बलिउड अभिनेता पुलकित शर्मा र अभिनेत्री कृति खरबंदा पनि कोरोनापछिको लकडाउनका कारण सन् २०२० मा दाम्पत्य सम्बन्धमा बाँधिन सकेका छैनन् । उनीहरूले पनि विवाहको मितिसमेत घोषणा गरेका थिए । कृतिले यो वर्ष आफूहरूको विवाहमा कोरोना संकट बनेको बताएकी छन् । अब नयाँ वर्ष सुरु भएपछि आफूहरूले विवाहको नयाँ योजना बनाउने पनि उनको कथन छ । केही समयदेखि लिभिङ रिलेसनमा बसेका यी जोडी पनि सन् २०२१ मा विवाहमा बाँधिने छन् ।
अभिनेत्री गौहर खानले पनि कोरोनापछिको लकडाउनका कारण प्रेमी दरबारसँग सन् २०२० मा विवाह गर्न सकिनन् । उनले पनि अब चाँडै आफुहरू दाम्पत्य सम्बन्धका बाँधिने बताएकी छन् ।
सन् २०२० मा विवाह गर्ने भनिएका अभिनेता गायक आदित्यनारायण झाको विवाह पनि अब सन् २०२१ मा मात्र हुने भएको छ । उनलाई पिता एवं गायक उदितनारायण झाले एक वर्षअघि नै विवाहका लागि स्वीकृति दिएका थिए । आफ्नी प्रेमिका श्वेता अग्रवालसँग उनी सन् २०२१ मा दाम्पत्य सम्बन्धमा बाँधिने भएका छन् । अहिले कोरोनाको संकटका कारण विवाह कार्यक्रमलाई केही महिना स्थगित गरेको आदित्यले बताएका छन् । आदित्य र श्वेता लामो समयदेखि प्रेम सम्बन्धमा छन् ।