महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ । बालिका बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।
कटुवालका अनुसार पुर्वमा वडा नम्बर १ को रातो खोला पश्चिममा वडानम्बर ५ को माईस्थान उतरमा वठा नम्बर ३ को पाटु र दक्षिणमा वडा नम्बर ८ को क्वाटर चोम सम्ममा बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो ।
बर्दिबासमा मंगलबार छ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका एकका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारकै मंगलबार राति मृत्यु भएको छ । उनको मृत्युपछि प्रदर्शन थप चर्कने अनुमान सहित प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।