जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक दूधमति नदीनालामा परिणत भएको छ । सो नदीको कायापलट गर्न प्रदेश २ को सरकार अग्रसर भएको छ । सो नदीको सौन्दर्यीकरणका लागि प्रदेश २ सरकारले कार्य अगाडि बढाएको छ । मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत नदीको सौन्दर्यीकरण गरिने कार्य सुरु भएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियानका प्राविधिक संयोजक एवं डिभिजन सिँचाई कार्यालय धनुषाकाका प्रमुख भगवान झाले नदीको डिपिआर भईसकेको र जनकपुरधामको बसविट्टीदेखि मौनी बाबाको स्थानसम्म पहिलो चरणमा कार्य एक दुई दिनभित्रै सुरु गरिने बताए । नदीको चारैतिर केही भूमाफियाहरुले जग्गा अतिक्रमण गरेका कारण जग्गाको अवस्था के रहेको छ त्यस सम्बन्धमा नापी कार्यालयले नापी पनि गरेको छ ।
त्रेताकालिन ईतिहास रहेको यो नदी धनुषा र महोत्तरी जिल्ला भएर बग्छ । माता सीतालाई दूध खुवाउन कामधेनु गाई आएकी थिइन् । माता कामधेनुले आफ्नो स्तनबाट दूधको धारा बहाएपछि यो नदी बनेको धार्मिक मान्यता रहेको छ । प्रदेश २ का सांसद रामअशिष यादवले नदीको सौन्दर्यीकरण भएपछि पर्यटकहरुकोयो स्थल केन्द्र बन्ने छ वताए ।
दूधमती नदीको पानी केही वर्ष अगाडी सम्म दूधजस्तै बग्ने गथ्र्यो । तर नदीमै नाला र फोहोर मैला हरु फालिएपछि यो नदी संरक्षणको पर्खाईमा रहेको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवामा उदगम स्थल रहेको दूधमती नदीको धारा जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म प्रवाहित हुन्छ । कुल ४६ किलोमिटर लम्बाइको दूधमती नदी मिथिलाञ्चलकै सबैभन्दा पुरानो नदीहरु मध्ये एक हो । यो नदीलाई हिन्दूधर्मावलम्बीहरुले पवित्र मान्दै स्नान गर्ने, देवकार्य, पितृकार्य गर्ने महत्वपूर्णस्थलका रूपमा लिइने गरिन्छ ।
सांस्कृतिविद एवं समाजसेवी अमरचन्द्र अनिलले रामायणकालिन इतिहास दूधमतीको रहेको वताए ।संरक्षण अभाव तथा जग्गा अतिक्रमणको चपेटमा परेपछि पहिचानका लागि संघर्ष गर्दैछ दूधमती । डम्पिङ साइटको रुपमा प्रयोग र व्यक्तिगत नाममा जग्गा दर्ता गराएर सम्याउने भू–माफियाको गतिविधिले दूधमतीको अस्तित्वनै अहिले संकटमा परेको देखिन्छ ।
जनकपुरधाममा डम्पिङ साइट नभएपछि नगरक्षेत्रसँगै आसपासका गाउँबाट समेत निस्केको फोहोर तथा सेफ्टी टयाङ्क विसर्जनका कारण नदी प्रदुषित मात्र भएको छैन, थुनिन पनि पुगेको छ ।
संरक्षण अभावमा नदीको पानीका साथै जलाधार क्षेत्रको गुणस्तर घट्दै गएको छ भने सांस्कृतिक तथा कलात्मक सौन्दर्यको मान्यतासमेत हराउँदै गएको छ । सौन्दर्यीकरण शुरुवात संगै स्थानीयवासी खुशी रहेको ऐतिहासिक दूधमती संरक्षण समितिका अध्यक्ष सुदीप मण्डलले वताए । मण्डलको नेतृत्वमा गत डेढ वर्षदेखि प्रत्येक शनिवार सफाई अभियान चलिरहेको छ ।