विराटनगर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पौठेजोरी नखेल्न विरोधीलाई सुझाव दिएका छन् । मन्त्री श्रेष्ठले ओली मरोस भन्ने जमात पार्टीभित्रै समेत बढ्दै गएको भन्दै बूढो बाघ निडर र साहसी भएकाले कसैको दाल नगल्ने बताए ।
सुनसरीको इनरुवा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मुलुकमा संघीयताविरोधी तत्व सलबलाउन थालेको भन्दै राष्ट्रहितका लागि ओली बाहेकको विकल्प नरहेको धारणा राखे । उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आए मुलुकमा संघीयता धरापमा पर्ने दाबी गरे ।
‘संघीयतालाई कमजोर बनाउनेहरु अहिले प्रधानमन्त्री ओलीविरुद्ध लागेका छन्,’ उनले भने ‘यदि प्रधानमन्त्रीले राजीनामा दिने अवस्था आयो भने संघीयता धरापमा पर्छ ।’ श्रेष्ठले प्रधानमन्त्री ओली समयसापेक्ष चल्न सक्ने नेता भएका कारण सहजै परास्त गर्छु भन्ने भ्रम नपाल्नसमेत विरोधी खेमालाई सुझाव दिए । ‘केपी शर्मा ओलीलाई सामान्य रुपमा नलिन म आग्रह गर्दछु,’ उहाँले थपे ‘उहाँले देश र जनताका समस्या बुझ्नु भएको छ । जनताको मत पाएर प्रधानमन्त्री भएको व्यक्तिलाई राजीनामा दे भन्नेहरु जनविरोधी हुन् ।’
मन्त्री श्रेष्ठले प्रचण्डको आरोप पत्रको जवाफ ओलीले छिट्टै दिने बताए । मन्त्री श्रेष्ठ शहरी बिकास मन्त्रालय अन्र्तगत संचालन भएको योजनाहरुको अनुगमनको क्रममा सुनसरीको इनरुवा आएका हुन् । टोलीले इनरुवामा सञ्चालित विभिन्न ढल प्रसोधन केन्द्र, बसपार्क र विराटनगर परियोजना अन्तर्गतको सडक, कार्यालय भवन लगायतका योजनाको अनुगमन गरेको थियो । मन्त्री श्रेष्ठले दुवै मृगौला फेल भएर उपचार गराइरहेका पुराना कम्युनिष्ट मजदुर नेता ओम कोईरालालाई बरगाछी स्थित निवासमा पुगेर भेट गरेका थिए ।