काठमाडौं । चालूआर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्समा १२.६ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार तीन महिनामा २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले वृद्धि भई २ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगतनयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.९ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले वृद्धि भई २ खर्ब ८६ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले घटेको थियो ।
शोधनान्तर स्थिति बचतमा
समीक्षा अवधिमा चालू खाता ३४ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २२ अर्ब ४७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८४ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २८ करोड ८२ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई ३ अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई २ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९९ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तरस्थिति १सय१ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १२ करोड ७८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको छ ।
विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब
गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.९ प्रतिशतले वृद्धि भई २०७७ असोज मसान्तमा १४ खर्ब ७० अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा २०७७ असोज मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई १२ अर्ब ५५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकामा २०७७ असोज मसान्तमा ५.१ प्रतिशतले वृद्धि भई १२ खर्ब ८८ अर्ब ५५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकामा २०७७ असोज मसान्तमा ३.४ प्रतिशतले वृद्धि भई १ खर्ब ८१ अर्ब ७१ करोड पुगेको छ । २०७७ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।
साढे १५ महिनालाई आयात धान्ने
आर्थिक वर्ष २०७७-७८ को तीन महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १४.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३९.० प्रतिशत, ११७.३ प्रतिशत र ३२.९ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपात क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।
चालू खाता धनात्मक
चालू खाता पछिल्लो दुई महिनायता धनात्मक देखिएको छ। कैयौं वर्ष घाटामा रहेको चालू खाता असोजमा ३४ अर्ब ३६ करोड रुपैयाँ बचतमा छ। गत वर्ष यतिबेला २२ अर्ब ४७ करोड घाटामा थियो।
राष्ट्र बैंकका अनुसार निर्यात १४.३ प्रतिशतले बढेर ३१ अर्ब ५ करोड पुगेको छ। आयात भने १२.७ प्रतिशतले घटेर २ खर्ब ९२ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ । मुद्रास्फीति पनि कम छ। अहिले ३.७९ प्रतिशत मूल्य वृद्धि छ। पोहोर यतिबेला ६.२१ प्रतिशत थियो।