लन्डन । जर्मनी क्लब बायर्न म्युनिख र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेका छन् । समुह ‘ए’ को खेलमा अष्ट्रियाको साल्जवर्गलाई ३–१ ले हराउँदै बायर्न नकआउट चरणमा पुगेको हो । यही समुहको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिड र रुसको लोकोमोटिभ मस्कोले गोलरहित बराबरी खेलेका छन् ।
यसैगरी समुह ‘सी’ को खेलमा ग्रिसको ओलम्पियाकोसलाई १–० ले हराउँदै इंग्ल्याण्डको म्यान्चेस्टर सिटी पनि नकआउट चरणमा पुगेको छ । समुहको अर्को खेलमा पोर्चुगलको एफसी पोर्टोले फ्रान्सको मार्सेलाई २–० ले हरायो । युएफा च्याम्पियन्स लिग
अन्तर्गत गएरातीको अर्को खेलमा इंग्ल्याण्डको लिभरपुल पराजित भएको छ । समुह ‘डी’ को खेलमा लिरभपुललाई उसैको मैदानमा इटालीको एटलान्टाले २–० ले हराएको हो । यही समुहको अर्को खेलमा नेदरल्याण्ड्सको आयाक्सले डेनमार्कको एफ।सी मिडेल्याण्डलाई ३–१ ले पाखा लगायो ।
यसैगरी समुह ‘बि’ को खेलमा स्पेनको रियाल मड्रिडले इटालीको इन्टर मिलानलाई २–० ले हराउँदा जर्मनीको बोरुसीया एम्ब्याचले युक्रेनको शख्तरलाई ४–० ले हरायो ।