काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गर्ने भएका छन् । सिलवालले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सागको हिसाबकिताब सार्वजनिक गर्न लागेका हुन् । साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।
सदस्यसचिव सिलवालले साग सकिएको तीन महिनाभित्र सागको खर्च सार्वजनिक गर्ने बताए पनि प्रतियोगिता आयोजनाको झन्डै एक वर्षपछि सदस्य सचिव सिलवालले खर्च विवरण सार्वजनिक गर्न लागेका हुन् । सागको खर्च विवरण सार्वजनिक नगर्दा सदस्यसचिव सिलवालको सुशासन र पारदर्शिताको नारामाथि प्रश्न उठ्दै आएको छ । साग आयोजना तथा सामान खरिदमा व्यापक भ्रष्टाचार भएको आरोप राखेपसमक्ष लाग्दै आएको छ ।
पछिल्लो समय ब्याडमिन्टनको जुत्ता तथा म्याट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन छानबिन समितिले तयार पारेको थियो । राखेपले समिति गठन गरेर तयार पारेको छानबिन प्रतिवेदन लामो समय बितिसक्दासमेत सार्वजनिक भएको छैन । १३औं साग गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको थियो । नेपालले ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २०७ पदक जितेको थियो ।