स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छिन् । आज (आईतबार) वालिङ – १२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गर्दै सो धारणा राखेकी हुन् ।
मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठ्ने गरेको भन्दै तर, अहिले ओली सरकारको विकल्प नरहेको र यसमा दुविधा नहुन आग्रह गरिन् । मन्त्री अर्यालले भनिन् ‘नेकपाभित्रको विवादलाई लिएर सरकारको भविष्य माथि के हुन्छ भन्ने प्रश्नहरु उठेका छन् । यसमा कुनै दुविधा छैन् । ओली सरकारको विकल्प छैन् ।’
वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने भन्दै मन्त्री अर्यालले ओली सरकारले नै देशलाई परिर्वतन गर्ने दिशामा अगाडी बढेको दाबी गरिन् । कम्युनिष्ट पार्टी एक गतिशिल पार्टी भएकाले छलफल र विवाद स्वभाविक भएको उनको भनाई थियो । ‘पार्टीभित्र बहस घनिभूत रुपमा चल्छ तर, पार्टी फुट्ने कुरा हुँदैन् । दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ ।
बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै संभावना छैन्’, उनले भनिन् । तातोपानीले घर नजल्ने भन्दै मन्त्री अर्यालले कम्युनिष्ट पार्टी एक ढिक्का रहने दावी गरिन् । ‘जनताको चाहनाले दुई ठुला पार्टी एक भएकाले जनता पार्टी फुटोस भन्ने चाहँदैनन्’, मन्त्री अर्यालले भनिन् ‘जनता कम्युनिष्ट सरकारको विकास अनुभुत गरिरहेका छन् । यही सरकारको निरन्तरता जनताको पनि चाहाना हो ।’