गौर । रौतहटको विभिन्न स्थानीय तहहरूमा एकैसाथ ५ वटा अस्पतालको शिलान्यास भएको छ । छनोट भएका ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि एकैसाथ मङ्सिर १५ गते भवन शिलान्यास गर्ने सङ्घीय सरकारको तयारी अनुरुप रौतहटमा ५ स्थानीय तहले शिलान्यास गरेको छ भने विवादका कारण एउटा अस्पतालको शिलान्यास भएन ।
रौतहटको मौलापुर नगरपालिका अन्तर्गत मौलापुर स्वास्थ्य चौकी, कटहरीया नगरपालिका अन्तर्गत कटहरीया स्वास्थ्य चौकी, गरुडा नगरपालिका अन्तर्गत शिवनगर स्वास्थ्य चौकी, माधवनारायण नगरपालिका अन्तर्गत खेसरहिया स्वास्थ्य चौकी तथा परोहा नगरपालिकाको लौकाहा स्वास्थ्य चौकीको शिलान्यास सम्पन्न भएको छ । जग्गा प्राप्तिमा विवाद उत्पन्न भएपछि राजदेवी नगरपालिका अन्तर्गत मुडवलवा स्वास्थ्य चौकीको भने शिलान्यास हुन सकेन । मौलापुर, कटहरीया, खेसरहीया, मुडवलवा स्वास्थ्य चौकी १५ शय्याको रहेको छ भने शिवनगर र लौकाहा स्वास्थ्य चौकी १० शय्याको रहेको छ ।
अस्पताल भवन शिलान्यास गर्दै मौलापुर नगरपालिकाकी नगरप्रमुख रीना कुमारी साहले अस्पताल तोकिएको समयसीमा अनुरुप दुई वर्षमा निर्माण सम्पन्न गराएर सञ्चालनमा ल्याउने बताइन् । प्रदेश २ कै एक मात्र महिला स्थानीय तह प्रमुख रहेकी नगरप्रमुख साहले उक्त अस्पताल निर्माण भएसंगै मौलापुर नगरपालिकासहित आसपास अन्य स्थानीय तहका नागरिक समेतले सुविधा पाउने बताइन् ।
ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्ने योजना बमोजिम अधिकांश स्थानीय तहले शिलान्यास गरेको छ । जहाँ ५, १० र १५ शय्याका अस्पताल निर्माण गरिनेछन् । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’ भनेको छ ।