रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता कुमारी साहको हत्या अभियोगमा उनकै आमाबाबु पक्राउ परेका हुन् । हत्याको आरोपमा अमृताको बुबा राम अयोध्या साह तेली,आमा सिता देबी साह सहितलाइ प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको थियो ।
अनुसन्धानको क्रममा अमृताको हत्यामा उनकै बुबा राम अयोध्या साह र आमा सिता देबीको संलग्नता रहेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धी बिक्रम शाहले बताए ।
अमृताको सोही स्थानका ३० वर्षीय थारु भन्ने सोसिन्द्र प्रसाद भगतसँग ३ वर्षदेखि प्रेम सम्बन्ध थियो, तर उनका परिवारले २०७६ फागुनमा सर्लाही जिल्लाको विष्णु गाउँपालिका–३ बस्ने रुपेश साहसँग जबरजस्ती मागी बिवाह गराइदिएका थिए
अमृताको आफ्नै माइतीघरमा आमासँग सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको थियो । रौतहटमा आफ्नो इज्जत जोगाउन बुबाले आफ्नै छोरीको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख शाहले पत्रकार सम्मेलनमा बताए ।
प्रहरीले अमृताको हत्यामा संलग्न भएको आरोपमा अमृताको बुबा रामअयोध्या साह, आमा सीता देवी साह, देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनीया करुनिया बस्ने अन्दाजी ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने ईस्लाम अंसारी, ३६ वर्षीय शेख ईम्ताज, परोहा नगरपालिका–४ का अन्दाजी ४५ वर्षीय छोटेलाल साहलाई पक्राउ गरी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी प्रमुख शाहले जानकारी दिए ।
माइतीघरमा आमासँग सुतिरहेकी अमृताको आमा ट्वाइलेट गएकी बेलामा अज्ञात व्यक्तिहरु घरमा छिरेर दाहिने पट्टिको कन्चटमा गोली हानी हत्या गरी फरार भएका थिए ।
प्रहरीका अनुसार मृतक अमृताको सोही स्थानका ३० वर्षीय थारु भन्ने सोसिन्द्र प्रसाद भगतसँग ३ वर्षदेखि प्रेम सम्बन्ध थियो, तर उनका परिवारले २०७६ फागुनमा सर्लाही जिल्लाको विष्णु गाउँपालिका–३ बस्ने रुपेश साहसँग जबरजस्ती मागी बिवाह गराइदिएका थिए ।
तर अमृता र उनको पति रुपेसबीच २०७७ साल असारमा सम्बन्ध बिच्छेद भएको थियो । मृतकका बुबा राम अयोध्याले जिल्लाको परोहा नगरपालिका वाड नं. ४ बस्ने छोटेलाल साहलाई गत कार्तिक ९ गते एक लाख पचास हजार रुपैयाँ दिई भारतमा लगेर मार्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।उक्त योजना असफल भएको प्रहरीको भनाइ छ ।
फेरी देवाही गोनाही नगरपालिकाका–२ लक्ष्मिनीया करुनीया बस्ने कैमुल देवानलाई एक लाख दिई गोली हानी हत्या गर्न लगाएको भन्ने खुल्न आएको प्रहरी प्रमुख शाहले बताएका छन ।
अमृताको हत्या गरे लगतै फरार रहेका मुख्य अभियुक्त कैमुल देवानलाई सर्लाहीको मंलगवा नगरपालिकामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको एसपी शाहले बताए । उक्त घटनामा संग्लग्न लक्ष्मण साह भने अझैं फरार रहेको र उनको पनि खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।