तनहुँ घटनाप्रति कांग्रेस आक्रामक

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ ।

स्थानीय उपभोक्ता समितिको निमन्त्रणामा निर्माण सम्पन्न पुल उद्घाटन गर्न गृह जिल्ला तनहुँ पुगेका नेता पौडेललाई उद्घाटनमा जाने क्रममा प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको थियो ।

प्रहरीले पौडेललाई धरपकड गरी पक्राउ गरेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले घटनालाई सर्वसत्तावादको संकेत भन्दै सरकारको सशक्त प्रतिवाद गर्ने बताए ।

देउवाले विज्ञप्तिमार्फत कांग्रेसले अधिनायकवादी अभीष्ट पूरा हुन नदिनेसमेत भनेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभीष्टलाई पूरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

देउवाले विज्ञप्ति जारी गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत फोन गरी पौडेललाई किन पक्राउ गरिएको भनी प्रश्न गरेका छन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री ओलीलाई देउवाले सर्वसत्तावादको अभीष्ट कांग्रेसले पूरा हुन नदिने भन्दै सरकारले त्यो अवस्थाको सामना गर्न नसक्ने चेतावनी दिएको जानकारी दिए ।

तनहुँको व्यासमा निर्मित पुल उद्घाटनमा कांग्रेस र सत्तारूढ दल नेकपाका स्थानीय नेता कार्यकर्ताबीच विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको थियो । सो क्रममा कांग्रेस वरिष्ठ नेता पौडेल भने पुल उद्घाटनमा अवरोध गर्न प्रहरी परिचालन गरिएको र निषेधाज्ञा लगाइएको भन्दै उद्घाटन स्थलतर्फ अघि बढेका थिए । सो क्रममा स्थिति बिग्रँदै गएपछि प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले नेता पौडेललाई पक्राउ गरेको थियो । सो क्रममा प्रहरीले निषेधाज्ञा तोडेको आरोपमा प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका सभापति जितप्रकाश आलेलगायतलाई पक्राउ गरेको थियो भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रु ग्याससमेत प्रहर गरेको थियो ।

त्यसअघि झडप हुन सक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन तथा नाराबाजी गरेकाले निषेधाज्ञा जारी गरेको बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन विषयमा डिग्री गरेकी रजनी ३० वर्षमै मेयरको उम्मेदवार