ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ ।
क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका हुन् । ‘यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौं,’ उनले भने ।
उनलाई क्यानडाको सरकारले गत साता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निकायको उपाध्यक्षका रूपमा नियुक्त गरेको थियो ।
सरकारी अधिकारी र सेनासँग मिलेर त्यससम्बन्धी काम गर्ने जिम्मेवारी उनले डिसेम्बर ७ देखि यससम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ सम्ममा सबै तयारी पूरा हुने पनि विश्वास व्यक्त गरे ।
क्यानडामा अहिलेसम्म ३ लाख ९० हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने १२ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ ।