दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर १ लाख घरमा पठाए । केही महिनापछि कम्पनी बन्द भयो । काम गरेवापत पाउने पारिश्रमिक नपाएर खाली हात गाउँमै फर्किए ।
उनले गाउँकै मालिका उच्च माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । विदेशमा राम्रो कमाइ हुने आशाले पढाइ छोडेर विदेसिएका डाँगी खाली हात घर फर्किएपछि आजभोलि गाउँका युवालाई विदेश नजाने सल्लाह दिने गरेका छन् । ‘मैले विदेशमा गएर दुःख पाएँ । काम गरेको तलब पाइनँ । गाउँमै केही व्यवसाय गरेको भए पढाइलेखाइ हुन्थ्यो दुःख हुने थिएनन् । पैसा पनि कमाइन्थ्यो, उनले दुखेसो पोखे ।
विदेशमा पाएको दुःखले डाँगी आजभोलि गाउँकै सफल व्यवसाय बनेका छन् । तरकारी खेती, डेरी सञ्चालन गरी राम्रो आम्दानी गरेका छन् । तरकारीबाट ५० हजार र डेरीबाट २० हजार गरी मासिक ७० हजार कमाउँछन् । गाउँबाट दूध संकलन गरी डेरी सञ्चालन गरेका छन् । अधिकांश कृषकले पसलमा दूध र तरकारी ल्याउँछन् । मैले सुर्खेत र नेपालगन्ज निर्यात गर्छु, उनले भने ।
डाँगीले १५ रोपनी जग्गामा तरकारी खेती छ । गाउँको तरकारी संकलन गर्दछन् । तरकारी र दूध संकलनबाट राम्रो आम्दानी गरेर पैसा कमाएको देख्दा गाउँका अधिकांश बूढापाका उनकै बारे लख काट्ने गरेको धरमपोखराका व्यापारी प्रेम रामजालीले बताए । विदेशबाट खाली हात फर्किएर आएको युवा गाउँमा साहू महाजनको दुबई जाँदा लिएको ऋण कसरी तिर्ला भनेर हामीलाई चिन्ता लागेको थियो । विदेशमा पाएको दुःखले तरकारी व्यवसाय र डेरी सञ्चालन गरेर ४ महिनामै ऋण तिर्यो अचम्म मान्द,ै उनले थपे ।
आजभोलि डाँगी गाउँकै अगुवा कृषक बनेको गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए । हामीले गाउँपालिकालाई कृषि पकेट क्षेत्र बनाउने निर्णय गरेका थियौंैं त्यसलाई सफल बनाउनका लागि उहाँको महत्वपूर्ण योगदान भएकाले केही व्यवस्थित डेरीका लागि लगानी गर्ने जानकारी दिए । गाउँमा डेरी नहुँदा अधिकांश कृषकले दूधबाट मही बनाएर घिउ बेच्थे , आजभोलि दूधदही बेच्ने गरेका छन् उनले थपे । धरमपोखरामा दूध प्रतिलिटर ३२ रुपैयाँ देखि ४० रुपैयाँमा बिक्री वितरण हुने गरेको छ ।