अझै मिलनबिन्दुको खोजी गर

नेकपाका शीर्ष नेताहरूको शक्ति संघर्षका कारण प्रतिनिधिसभाको असामयिक अवसान हुन पुगेपछि आम जनतामा एक किसिमको निराशा छाएको छ । जनतामा देखिएको यस्तो निराशालाई समयमा नै सम्बोधन गर्न सकिएन भने त्यसले समग्र राजनीतिक प्रणालीमाथि समेत गम्भीर धक्का लाग्न सक्ने भय देखिन्छ ।

जस्तासुकै संकट आइपरे पनि त्यस्ता संकटको बुद्धिमतापूर्ण समाधान खोजेर समयमा नै त्यसलाई पार लगाउन सक्नु नै राजनीतिक नेतृत्वको कौशल र खुबी हो । तर, यतिखेर हामीकहाँ त्यस्तो खुबी भएको राजनेताको खडेरी परेकाले समस्या समाधान हुनुको साटो झनै बढेर गएको छ ।

राजनीतिक नेतृत्वले जहिले पनि आशा जगाउनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरी नयाँ संविधान ल्याउन अग्रणी भूमिका खेलेका केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालजस्ता दिग्गज नेताहरू भएको पार्टीले यस्तो संकट र दुर्दशा बेहोर्नुपर्ने अवस्था आउनुले ती सबै नेताहरूलाई गिज्याउने काम मात्रै गरेको छैन जनताको दृष्टिमा उनीहरू सबै जना नकारात्मक पात्रको रूपमा चित्रण हुन पुगेका छन् । सत्तारूढ दलको विवाद उत्कर्षमा पुग्दा प्रतिनिधिसभा विघटन मात्रै भएको छैन, यो प्रक्रियाले मुलुकको राजनीतिक प्रणालीमाथि नै गम्भीर प्रश्नचिह्न सिर्जना हुन पुगेको छ । दुई कित्तामा विभक्त भएका सत्तारूढ दलका नेता कार्यकर्ताहरूले परस्परमा एकले अर्कालाई खुइल्याउने क्रम सुरु भएको छ । देश कोभिड–१९ को संकटबाट ग्रुज्रिरहेको अवस्थामा सत्तारूढ दलका कारण मुलुकले अर्को संकट बेहोर्नुपर्ने स्थिति आउनु घोर विडम्बना भएको छ । मुलुकले संकटमाथि संकट बेहोर्नु परिरहेको अवस्थामा सडकमा फेरि जिन्दावाद र मुर्दावादमा नाराहरू लाग्न पुगेको छ । सडकमा लाग्ने यस्ता नाराहरूको अब कुनै अर्थ छैन । पीडामा बाँच्न विवश आम जनता सडकमा आउने अवस्था पनि छैन र आउने पनि छैनन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रले आत्मसात गरेका मूल्य र मान्यतालाई हाम्रा शीर्षनेताहरूले बिर्सन पुग्दा पनि अहिलेको समस्या आएको हो । शीर्ष नेताहरूले सहकार्य, सहअस्तित्व र समन्वयको भावनालाई बिर्सिएर एक पक्षले अर्को पक्षलाई पूर्ण रूपमा निषेध गर्न खोज्दाको दुष्परिणाम हो अहिलेको अवस्था । आफ्नै दलभित्र एक पक्षले आफ्नै अध्यक्ष, संसदीय दल र प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कार्य आफंैमा संदीय मर्यादा र पद्धति विरुद्ध थियो भने अर्को पक्षले त्यसको प्रतिशोध साध्न प्रतिनिधिसभा नै विघटन गर्न पुग्नु फेरि अर्को पद्धतिमाथिको प्रहार थियो । न्युटनको चालसम्बन्धी तेस्रो सिद्धान्तले पनि ‘हेरक क्रियाको बराबरी र ठीक विपरीत प्रतिक्रिया हुन्छ भन्ने’ मान्यता प्रतिपादन गरेको छ । त्यसैले यस प्रकरणमा प्रधानमन्त्री मात्रै नभएर अन्य सबै शीर्ष नेताहरू पनि उत्तिकै दोषी छन् ।

त्यसैले एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा पनि फेरि सहमतिमा आएर मिलबिन्दुको खोजी गर्न सकिएमा सत्तारूढ दल नेकपाका सबै नेता कार्यकर्ताको मात्र नभई सारा जनता र देशकै जीत हुन सक्छ अन्यथा यसरी नै लडिरहने र फुटको मार्गमा जाने हो भने सत्तारूढ दलका सबैको हार हुनेछ । उनीहरूको हारका कारण उत्पन्न हुने दर्दनाक परिस्थितिका कारण जनता र देशले समेत दुःख पाइरहनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौं उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा बालेन शाहको अग्रता कायमै