काठमाडौं । हरेक आमा बुबाले जस्तै कमला शाही र कुबीर शाहीले पनि सोचेका थिए, कतै छोरी खेलकुदमा लागेर बिग्रिने त होइन ? चिन्ता स्वभाविक नै थियो । तर जति बेला छोरीले देशका लागि खेलेर अपार ख्याति कमाइन नि, त्यति बेला तिनै आमाबुबाले भनेछन्, ‘हाम्रो छोरीले त हाम्रो इज्जत पो बढाइन् ।’ यो कथा हो, नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीको ।
वर्ष २०७६ मा नेपाली खेलकुदको वृतान्त भन्नु नै हाम्रो मै भएको १३औं दक्षिण एसियाली खेलकुद हो र त्यसका अनेक अनेक सफलताका कथा छन् । त्यसमध्ये सम्भवतः सबैभन्दा मन छुने कथा हो, त्यही महिला राष्ट्रिय भलिबल टिमले चुमेको रजत पदक । भन्नेले भन्दो हो, एकपछि अर्को स्वर्णको हुलमा यो रजत पदक के नै हो र ? तर होइन्, यो रजत पदकको सार नै बेग्लै छ, अनुपम पनि छ । भलिबल त नेपालको राष्ट्रिय खेल हो, त्यसमाथि महिला भलिबल बढी नै लोकप्रिय छ ।
अनि यसका लागि वर्ष २०७६ बेग्लै शानको रह्यो । यही वर्षको उपलब्धिले देखाउँछ, यो खेलमा नेपालको सम्भावना पनि उत्तिकै बाक्लो छ । नेपालले साग अघि एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण जितेको थियो । यो महिला भलिबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । त्यसपछि त दक्षिण एसियाली खेलकुदमा रजतपदक पनि हात परिहाल्यो । यो यात्रामा टिमका सबैभन्दा ठूला पात्रा हुन्, तिनै करुणा । उनी कप्तान त हुन नै, गहकिला ‘सेटर’ पनि हुन् ।
नेपाली महिला भबिललमा आम खेल प्रेमीमा सबैभन्दा चिनिने नाममध्ये सबैभन्दा अगाडि पनि अरुणा कै नाम आउने गर्छ । यि २७ वर्षीया चेलीले त्यसको आधाभन्दा बढी १४ वर्ष भलिबलका लागि समर्पित गरिसकेकी छन् । यिनै दुई ठूलो सफलतापछि म्याग्दी रघुगंगा गाउँ पालिकाका आमा बुबाले आफ्नै छोरीलाई लिएर गर्व नगरेर कहाँ पाइन्थ्यो त ? उनी त अब पूरा गाउँकै शान हुन्, अझ यो भौगोलिक घेरा तोडेर देशकै इज्जतसमेत भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने वर्ष ०७६ को पल्सर स्पोर्टस अवार्डको लोकप्रिय खेलाडी विधामा अरुणा पनि परेकी छन्, मनोनयन ।
अब यिनलाई समग्र भलिबलमा पु¥याएको योगदानका लागि धेरैभन्दा धेरै मत दिएर जिताउने काम आम खेल प्रेमीको हो । फेरि एकपल्ट त्यही १३ औं दक्षिण एसियाली खेलकुदमा फर्कौं न, त्यसमा पनि महिला भलिबलको फाइनल । नेपालको प्रतिद्वन्द्वी थियो, भारत । स्वर्णको प्रतिस्पर्धामा नेपालले सुरुआती दुई सेट जितेको थियो, सबैलाई लागेको थियो, अब स्वर्ण नेपालकै हो । तर त्यस्तो भएन्, नेपालले त्यसपछि तीन सेट गुमायो । यो तीन सेट गुमाएको मात्र थिएन्, स्वर्ण नै गुमाएको थियो । अरुणालाई मुखमै आएको भात खोस्सिएको जस्तै लागेको थियो । फाइनल खेल के सकिएको थियो, सबै खेलाडीले मन नै थाम्न सकेनन्, कोर्टमै रोए ।
अरू बेला खासै रून नपर्ने अरुणाले पनि आफूलाई रोक्न सकिनन्, अविरल आँसु बगिहाल्यो । त्यसो त अरुणा खासै बोलिरहने खालकी होइनन्, तिनलाई हल्का अन्तरमुखी भन्दा पनि हुन्छ । कप्तान भएयता उनलाई बोल्नु परेको छ । तर कम बोल्न सबैले जस्तै उनले पनि सपना भने धेरै देख्छिन्, त्यो पनि दिउँसै । सपनासँगै मनका कुरा खेलाउने बानी भन्दा पनि हुन्छ । विश्वास नहुन सक्छ, त्यो फाइनल सकिएको एक वर्ष भइसकेको छ, अरुणाको मनबाट त्यति बेलाका कुनै पनि क्षण हराएको छैन् ।
सबै आँखै अगाडि छन्, सिनेमाका दृश्य जस्तै चारैतर्फ घुमिरहेका छन् । उनलाई लाग्छ, समयको चक्रलाई उल्टो घुमाएर फेरि फाइनलसम्म पुग्न पाए, ती हारेका तीन सेटलाई उल्टाउने प्रयास गर्थिन् । स्वर्ण जित्न प्रयास गर्थिन् । यी सबै कल्पना नै त हुन्, तर यसले अरुणा कस्ती छिन्, त्यसको सार पनि खिच्छ । उनी हाकाहाकी भन्छिन्, ‘भलिबल नै मेरो पहिलो प्रेम हो ।’ सानोमा वीरेन्द्र सिल्ड खेल्दा उनी पहिलोपल्ट प्रशिक्षक कौशिला खत्रीको नजरमा परेकी थिइन्, त्यसपछि त सिधै भलिबलका लागि प्रसिद्ध ज्ञानुबाबा स्कुल पुगिन् ।
गत वर्षको कात्तिक देखि उनी टोलीको कप्तान छिन् । यिनै कप्तान अरुणा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डअन्तर्गतको सबैभन्दा चर्चित विधा ‘पिपल्स च्वाइस’ मनोनयनमा परेर आफ्नो खेल जीवनको अर्को मोडमा छिन् । त्यसलाई सुखमय बनाउन अरुणालाई धेरै भन्दा धेरै मत दिने कि ?