काठमाडौं । भूकम्पपछिको सामाजिक–आर्थिक पुनर्निर्माणमा भएका पहलहरुका अनुभवहरु समेटेर प्रकाशित पुस्तक सार्वजनिक गरिएको छ । विभिन्न संस्थाहरुको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा प्रकाशित ‘द राइजिङ फ्रम द रुइन्सः एक्सपेरियन्सेस इन लाइभ्लिहुड इन्टरभेन्सन्स्’ पुस्तक सार्वजनिक गरिएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुस्तक विमोचनपछि मन्तव्य राख्दै प्राधिकरणले भौतिक पुनर्निर्माणसँगै सामाजिक–आर्थिक पुनर्निर्माणलाई अगाडि बढाउन यथेष्ट जोड दिएको उल्लेख गरे । ज्ञवालीले यी अनुभव तथा पहलहरुको अनुभव आगामी पुस्ताका लागि महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा मन्तव्य राख्दै प्राधिकरणका सचिव सुरेश आचार्यले जीविकोपार्जन र आर्यआर्जनको क्षेत्रमा प्राधिकरणको अभियानलाई सहयोग गर्ने सबै संस्थाहरुलाई धन्यवाद दिए । पुस्तक पुनर्निर्माण र पुनस्र्थापना प्रयासहरुको महत्वपूर्ण अभिलेख भएको आचार्यको जोड थियो ।
पुस्तकमा प्राधिकरणका कार्यकारी समिति सदस्य डा.विष्णु बहादुर भण्डारीसहित १८ विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिका अनुसन्धानमा आधारित आलेखहरु समाविष्ट छन् ।
कार्यक्रमका प्राधिकरणका कार्यकारी समिति सदस्यद्वय डा. चन्द्रबहादुर श्रेष्ठ, डा. हरिराम पराजुली, पुस्तक प्रकाशनमा सहयोग गर्ने तथा आलेख उपलब्ध गराउने संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति थियो ।