काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले आफू मन्त्रालयमा रहँदासम्म कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । मन्त्रालयमा कुनै पनि समस्या आउँदा दबाबमा नपरी समन्वय गरेर समाधान खोजिने उनले बताए ।
आफ्नो यात्रा कति लामो हुन्छ भन्ने यकीन नभए पनि मन्त्रालयमा रहँदसम्म सबैसँग मिलेर काम गर्ने उनको भनाई थियो । मन्त्रालयलाई नेतृत्व दिने जिम्मेवारी कर्मचारीको नै भएको भन्दै उनले राजनीतिक नेतृत्व आउने÷जाने भए पनि कर्मचारीले स्थायीरुपमा काम गर्ने काम गर्नुपर्ने उनको भनाई थियो ।
लामो राजनीतिक जीवनपछि पहिलोपटक मन्त्री भएका ‘निर्वाचनको मिति नै तोकिएको अवस्थामा अहिलेको आफ्नो मुख्य जिम्मेवारी निर्वाचन भएको धारणा राखे । मन्त्रालयका सचिव माधव बेल्वासेले खानेपानी मन्त्रालय संरचनागतरुपमा सानो भए पनि मौलिक हकमा उल्लेख भएका अधिकारको कार्यान्वयन गराउने जिम्मेवारी भएको धारणा राखे । खानेपानी र स्वच्छ वातावरणको हक कार्यान्वयन गराउने जिम्मेवारी भए पनि अहिले धेरै ठाउँमा पानीको स्रोत सुक्दै जानु चुनौतीका रुपमा देखा परेको उनको भनाइ छ ।
मन्त्रालयको जिम्मेवारीका रुपमा रहेको ढल व्यवस्थापनामा समन्वयको समस्या रहेको उनले औँल्याए । ‘समन्वयकै अभावमा कतिपय स्थानमा ढल निर्माण भइरहेकामा समेत त्यो रोकिएको छ ।’ उनले भने ।
मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रालयको जिम्मेवारी ठूलो भए पनि संरचना र जनशक्ति कम रहेको जानकारी दिए । खानेपानी एउटा निकाय मात्रै संलग्न भए पनि ढल निर्माण, मर्मत र व्यवस्थापनको जिम्मेवारी धेरै निकायले लिएकाले समस्या आउने गरेको उनको भनाइ छ ।
मन्त्री थापाले आजै खानेपानी तथा सरसफाइसम्बन्धीको गुरुयोजना (वास प्लान) प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा अघि बढाउनेसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् । आज मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले मन्त्रालयले यसअघि कतिपय प्रदेश र पालिकासँगको समन्वयमा ‘वास प्लान’ शुरु गरेकामा बाँकी पालिकामा समेत अघि बढाउने निर्णय गरेका हुन् ।