ललितपुर । गृहमन्त्री रामबहादुर थापाले प्रतिगमनकारी शक्तिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गराएको बताएका छन् ।
नेकपाको जिल्ला कमिटीले आज आयोजना गरेको ‘ललितपुर महानगरस्तरीय वृहत कार्यकर्ता भेला’ मा उनले मुलुकमा अस्थिरता पैदा गर्ने रणनीति प्रतिगमनकारीले नै सिर्जना गराएका भनाइ राखे । उनले भने, ‘उनीहरुले नेकपाको कमजोरी सुक्ष्म रुपमा अध्ययन गरेको देखिन्छ, मुलुकमा नयाँ स्थायित्व र सुशासन कसरी प्राप्त गर्ने भन्ने हामीलाई चुनौती भइरहेको हुँदा यसको विरोधमा उभिनेछौँ ।’ अब इतिहासले सुम्पिएको नयाँ जिम्मेवारी बहन गर्नुपर्ने बेला भएको मन्त्री थापाले बताए ।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जनताका बीचमा जान कायल मात्र डराउने बताउँदै अब वैशाखमा हुने भनिएको निर्वाचनमा सबैलाई जुट्न आग्रह गरे । नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद नवराज सिलवालले नेकपालाई तहसनहसन गर्न असन्तुष्ट नेता अभिएकाले सबैलाई मिलेर निर्वाचनमा जान अनुरोध गरे ।
राष्ट्रियसभा सदस्य कोमल ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वले महिलालाई प्राथमिकतामा राखी राष्ट्रपतिको पद दिएकाले उनको पथमा हिँड्नु प्रभावकारी हुने बताइन् । रासस