नेपालगन्ज । बाँकेको खजुरा–२ मा खेलकुद ग्राम निर्माण हुन थालेपछि यहाँका युवा उत्साहित भएका छन् । खजुरा गाउँपालिकाले आठांै राष्ट्रिय खेलकुदको महिला हक्की, महिला पुरुष भलिबल, बक्सिङ र फुटबल सञ्चालन गरेको थियो । संघीय सरकारको सहयोगमा खेलकुद ग्रामको निर्माणलाई अघि बढाएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
गौरीनगरमा खेलकुदग्राम युवाका लागि सुनौलो अवसर भएको स्थानीय सुदर्शन खड्का उत्साहित हुँदै भन्छन्, ‘खेल मैदान नहुँदा खेतमा खेलेर पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खजुराको नाम राख्न सफल भएका छौ । अब पालिकाले हाम्रै घरदैलोमा खेलकुद ग्राम निर्माण गर्दै छ ।’ उनले भने, ‘अब युवा लक्षित खेलकुदका कार्यक्रम ल्याउन आवश्यक छ ।’
गाउँपालिकाले खेल भावनाको विकास गर्नका लागि खेलकुदका प्रतियोगिता गराउँदै आएको खजुराका स्थानीय फुटबल खेलाडी विनोद कुमाल बताउँछन् । डाँफे स्पोर्ट क्लवका खेलाडी सुभाष बुढाथोकीले भने, ‘उत्कृष्ट खेलाडी उत्पादन गर्नका लागि खेल प्रशिक्षकको व्यवस्थापनलाई ध्यान दिनुपर्छ ।’
खजुरा गाउपालिका–४ का वडाध्यक्ष तथा न्यू डाँफे स्पोर्टस क्लवका अध्यक्ष तिलकबीर सुनारले भने, ‘हामी खेलकुदलाई प्राथामिकतामा राखेका छौं । खेललाई पनि हामीले विकासको सूचकको रूपमा लिएका छौं ।’
खजुराको गौरीनगरमा खेलकुदग्राम र डि गाउँमा फुटबल ग्राउण्ड निर्माण हँुदा स्थानीय युवाहरू खेलतर्फ आकर्षित भएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली बताउँछन् ।
खजुरा गाँउपालिका प्रमुख कक्षपतिले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०७६÷७७ को एक गाउँपालिका एक खेलकुद ग्राम निर्माण गर्ने नीति तथा कार्यक्रमअन्तर्गत गौरीनगरमा ५७ करोड ८७ लाख कुल लागतमा खेलकुद ग्राम निर्माण गरिने भए पनि चालू आर्थिक वर्षमा भने ‘टोकनमनी’का रूपमा आएको ५० लाख रकमले निर्माण कार्य सुरु गरेको बताए ।
‘५० लाखले खेल मैदानमा माटो पटान र बाउन्ड्री घेर्नेजस्ता कार्यहरु भइसकेको छ,’ उनले भने । खेलकुद ग्राममा फुटबल, भलिबल, पौडी पोखरी, बहुउद्देश्यीय कभर्डहल, जिम हल, पार्किङ, खेलाडी आवाशिय भवन निर्माण गरिने गुरु योजनामा रहेको छ ।