काठमाडौं । सरकारले सिंहदरबारभित्र पुरानै भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी गरेको छ । सिंहदरबारको मुख्य प्रशासनिक भवनको उत्तर, दक्षिण र पूर्वी भाग पुसभित्र सम्पन्न गरी माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी गरिएको हो ।
महाभूकम्प २०७२ ले क्षति पु-याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयनजिकै रहेको अर्को भवनमा सारेर विगत पा“च वर्षदेखि काम सञ्चालन गर्दै आइएको छ ।
सरकारले २०७२ वैशाखको भूकम्पले भत्काएका संरचना बनाउन पाँच वर्षको अवधिमा ३ खर्ब ३९ लाख खर्च गरेको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सरकारले निजी आवास, विद्यालय भवन, स्वास्थ्य भवन, सरकारी भवनलगायत भत्किएका संरचना बनाउन ३ खर्ब ३९ अर्ब खर्च गरेको हो ।
प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ९० प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीका अनुसार पुनर्निर्माणका लागि ७ लाख ९६ हजार लाभग्राहीसँग अनुदान सम्झौता गरेकामा ५ लाख ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएको छ । उनका अनुसार बाँकी १ लाख ६८ हजार पुनर्निर्माणको अन्तिम चरणमा रहेका छन् ।
पुनर्निर्माण प्राधिकरणका अनुसार १३० एकीकृत बस्तीमध्ये ५० वटा बस्तीको पुनर्निर्माण सकिएको छ । प्राधिकरणले सांस्कृतिक तथा पुराताŒिवक सम्पदाको जीर्णोद्वार तथा पुनर्निर्माणमा ९ सय २० वटा सम्पदामध्ये ४ सय ६५ वटा सम्पन्न भएको जनाएको छ । रानीपोखरी पुनर्निर्माणको कार्य सकिएको छ भने धरहराको २०औं तल्लाको पुनर्निर्माण भइरहेको छ । प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय विद्यालयमध्ये ५ हजार अर्थात् ८१ प्रतिशत पुनर्निर्माण सम्पन्न भएका छन् ।
कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ७४ वटा अर्थात् ९० प्रतिशत पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यसैगरी प्राधिकरणले सुरक्षा निकायका २१६ भवनमध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको र २ वटा पुनर्निर्माणको चरणमा रहेको जनाएको छ ।