सप्तरी, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ स्थित लोखरम टोलमा एक÷एक साताको फरकमा आगलागि हुँदै आएको छ । पछिल्लो पटक शुक्रबार मध्य राती स्थानिय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले थप दुई घर समेत जलेर नष्ट भएका छन् ।
राती १ बजेतिर लागेको आगोले सुतिहारको गाईगोठका साथै छिमेकी गोसाई सुतिहार र कृष्णा सुतिहारको घर जलेर नष्ट हुँदा १५ लाख भन्दा बढीको क्षति भएको पीडितहरुले बताएका छन् । आगलगिमा एक गाईगोठ, दुई घर, एक बैलगाडा, दुई साइकल, भाडाकुडा र खाद्यान्न जलेको छ । यस्तै सातवटा पशुचौपाया समेत जलेर घाइते भएको राजविराज नगरपालिका बारुणयन्त्र विभागका कर्मचारी श्याम यादवले जानकारी दिएका छन् ।
राजविराज नगरपालिकाको बारुणयन्त्र, शसस्त्र र नेपाल प्रहरी तथा स्थानिय वासिन्दाको प्रयाशमा आगो नियन्त्रण आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि सोही टोलमा पुस ११ गते सोनाई सुतिहार तथा पुस १७ गते महाबिर साहको घरमा आगलगि हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको थियो ।
प्रायजसो लगातार आगलगि हुन थालेको तर, कारण खुल्न नसक्दा स्थानिय त्रसित भएका छन् । सोही टोल निवासी पूर्वसांसद सकलदेव सुतिहारले आगलगिका डरले चिसोका वावजुद विगत एक महिनादेखी स्थानियले घुर बाल्न छाडेको बताए । ‘तै पनि निरन्तर आगलगि हुँदा गाउँमा त्रास फैलिएको छ, उनले भने, यसबारे प्रहरी उपरिक्षक राजेन्द्र धमलालाई पनि जानकारी गराएको छुँ, उहाँले यसबारे अनुसन्धान गर्ने आश्वासन दिनु भएको छ ।’ उनले गाउँकै केही उच्श्रृखल ब्यक्तिले यस्तो घटना गराइरहेको आशंका समेत व्यक्त गरेका छन् ।