काठमाडौं । सिसडोलवासीले १५ दिनभित्र आफूहरुको माग पूरा नगरे फोहोरमैला व्यवस्थापनलाई रोक्ने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको गर्दै सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले १५ दिनभित्र ११ बुँदे माग पूरा नभए फोहोर ल्याउने कार्य रोक्ने चेतावनी दिएका हुन् ।
समितिका संयोजक नवराज ढुंगानाले बिगत १५ बर्ष देखि फोहोर थुप्रीएर आतंक मच्चाई रहेको टिप्पणी गरे । पटक पटक जायज माग उठाउँदा आश्वासन मात्र दिइएको भन्दै यसपटक १५ दिनभित्र पूरा नगरे फोहोर मैला ल्याउन ठप्प पार्ने चेतावनी दिए । उनले सिलडोलमा अब कि त फोहोर बस्ने कि त मान्छे बस्ने गरी टुंगो लगाउन सरकारसँग माग गरे । ‘भौतिक बाताबरण प्रदुषित स्थानमा मान्छे र फोहर किन सङ्गै राखियो ?’ ढुंगानाले प्रश्न गरे । फोहोरको अन्यत्र व्यवस्थापन गर्न या सिलडोलवासीलाई उपयुक्त स्थानमा ससम्मान व्यवस्थापन गर्न माग गरे । ‘सरकार गैरजिम्मेवार भएको छ, त्यसमा करोडौंको भ्रष्टाचार हुन्छ,’ उनले भने, ‘कुनै पनि हालतमा अब हाम्रो ठाउँमा फोहर व्यवस्थापन गर्नै दिदैनौ र अब काठमाडौको फोहर काठमाडौमा नै व्यवस्थापन गर्नु पर्छ ।’
नयाँ प्रविधिको मेसिन राख्नुपर्छ : शहरी विकास राज्यमन्त्री
कार्यक्रममा बोल्दै शहरी विकास राज्यमन्त्री रामबिर मानन्धरले फोहोरमैलाको व्यवस्थापनको लागि नयाँ प्रविधिको मेसिन राख्नुपर्नेमा जोड दिए । फोहोरमैला व्यवस्थापन सधै गम्भीर विषय बन्दै आएकाले यसको दीगो समाधानमा जोड दिए । उनले भने, ‘प्रविधि मार्फत फोहोरको समाधान हुन्छ । फोहोरमैलाको व्यवस्थापनको जिम्मेवारी सरकारको होइन काठमाडौ महानगरपालिका हो ।’
नेपाली कांग्रेस नुवाकोटका नेता रमेश महतले काठमाडौंबाट प्रहरी लगेर जबर्जस्त फोहोर फालिने गरेको आरोप लगाए । उनले जनतामाथि जोडजर्बजस्ती सह्य नहुने बताए । महतले भने, ‘सरकारले त्यसको बैकल्पिक व्यबस्थापन गरेर कर उठाएर यसको उचित व्यवस्थान गर्नु पर्छ ।’