काठमाडौं । महिलालाई काम लगाइदिने लोभ देखाएर श्रीलंका पुर्याएर बन्धक बनाउने कार्यमा संलग्न अमृत बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
झापा बुद्वशान्ती गाउँपालिका–२ घर भएका विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई घरबाट पक्राउ गरेको जनाएको छ ।
अमृतले २४ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्देश्यले विभिन्न प्रलोभन दिएका थिए ।
३ फागुन २०७६ मा कुवेतमा घरायसी काममा लगाई दिने भन्दै महिलालाई काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्याए । श्रीलंका पुगेपछि युवतिलाई थाहा पाइन् आफु बेचिएको । त्यसपछि उनलाई त्यहाँका एजेन्टहरुले घरमा बन्धक बनाएर राखे ।
श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन । अमृतमाथी जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।