माओवादी द्वन्द्वका बेलामा राजा ज्ञानेन्द्रकै शासानकालमा माओवादीले युद्ध विराम ग¥यो । ऊ अर्धभूमिगत भयो । मुख्य मुख्य सहरमा आमसभा ग-यो । पोखराको अमरसिंहमा आयोजित आमसभालाई सम्बोधन गर्न पदमरत्न तुलाधर आएका थिए । सायद उनी त्यतिबेला अरु दल र माओवादीबीच सेतुको काम गर्थे होलान् । उक्त समारोहमा पोखराका एकजना स्थापित नेताले भाषण गर्दै ‘ठेक्का पट्टा र व्यापार गर्ने मान्छेलाई नेपाली जनता राजा मान्न तयार छैनन्’ भनेका थिए । उनको यो भाषणका पक्षमा तालीको गड्गडाहड् आयो । सकारात्मक हुटिङ भयो । आमसभामा मानिसहरू कीरा सराबर थिए । निकै टाढा बस्नेहरूले यति चर्को भाषण गर्ने को होला छुट्याउन सकेनन् । उसको भाषण सकिएपछि उद्घोषकले धन्यवाद दिँदै उसको नाम लिए । उनी नेकपा एमालेबाट चोइटिएको राजनीतिक दल मालेका जिल्लास्तरीय नेता रहेछन् । एकछिन अघि ताली हानेको जमातले ‘ए, यो मान्छे पोे रहेछ, खतम मान्छे, खुबै बोलें भनेर टाउको हल्लाएको होला’ भन्दै गिज्याउन थाले । अघिको ताली र हुटिङ उनीहरूको लागि उत्तिबेला नै पश्चातापमा परिणत भयो ।
यतिबेला नेपाली राजनीति र खासगरी बाम राजनीतिमा कित्ताकाटको अवस्था छ । यता, उता लाग्ने एकअर्काका बैरी मात्र होइनन् गणतन्त्रविरोधी, संघीयताविरोधी, स्वार्थी पदलोलुप घोषित भएका छन् । आफ्नो समुहमा आउने साक्षात् ईश्वर ठहरिएका छन् । पर्ख र हेरको अवस्थामा बसेका बामदेव गौतम अहिले दुवैथरीको आर्कषण बन्दैछन् । कुनै पनि दिन उनको कित्ता स्पष्ट भएपछि अर्को समुहका लागि उनी पनि गालीगलौजको प्रमुख निशाना हुनेछन् । केही समय मौन बस्दा रामबहादुर थापामा गुणैगुण देखिए । कित्ता टुंगोगरेपछि जनयुद्धकालमा नै सांस्कृतिक विचलन आएको कुरा बाहिरियो । हिजका सहयात्री प्रचण्ड एकाएक स्वार्थी देखिए, केपी ओली जबर्जस्त गणतन्त्रवादी भएको ठहरिए ।
एउटै थालमा खाएकालाई जीउँदैमा श्रद्धाञ्जली दिन मन लाग्यो कसैलाई, भने कसैलाई हिजोको सहयात्रीको अनुहारमा गोमन साप रूपान्तरित भयो । यस्तो पनि हुन्छ ? राजनीतिमा जे पनि हुन्छ र ? राजनीतिमा नैतिकता, इमानदारिता, धैर्यता र विश्वासको अलिकति पनि गुञ्जायस नभएकै हो त ? आफूलाई ठूला दल र महान् भन्ने सबै खाले नेताले जसलाई सत्तेसराप गर्छन्, भोलि उसैलाई भगवान मान्ने दिन पनि आउँछन् भन्ने कुरा किन बिर्सन्छन् ? आज जसलाई गालीगलौजको वर्षा गरिएको छ, भोलि उसैका नाममा चाकडीका फुुलथुँगाहरू गाँस्न नपरोस् भन्ने हेक्कासम्म नराख्ने पनि राजनीतिज्ञ हुन्छन् ? आफूलाई नेता हुँ भन्नेले एकपटक सोच्नुपर्ने देखिन्छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा भंग गरी आगामी २०७८ सालको बैसाख १७ र २७ गते दुुईचरणमा मध्यावधि निर्वाचनको सिफारिस गरेअनुसार राष्ट्रपतिबाट उक्त सिफारिस कार्यान्वयन भैसकेको छ । ताजा जनादेशका लागि भन्दै प्रधानमन्त्रीले मध्यावधि रोजेका हुन् । सरकार पुरा बहुमतमा भएको र उसको नीति तथा कार्यक्रमलगायत्का सबै योजनाहरू कार्यान्वयन गर्न प्राविधिक हिसाबले बाधा, अडचन नभएकाले उक्त सिफारिस र मध्यावधिको घोषणा संविधानविपरीत छ भनी सर्वोच्च अदालतमा रिट परिसकेको छ ।
सम्मानित अदालतलाई प्रधानमन्त्रीले यो विशुद्ध राजनीतिक विषय भएकाले न्यायिक निरूपण जरुरी नभएको आशयको प्रत्युत्तर गत आइतबार पठाइसकेका छन् । सभामुख अग्नि सापकोटा भने प्रधानमन्त्रीको यो कदम जनताको प्रतिनिधि संस्थामाथिको हस्तक्षेप हो भनेका छन् । अदालतको क्षेत्राधकिारभित्र गैसकेको विषयलाई लिएर केही पुर्वन्यायाधीशले प्रधानमन्त्रीको कदम संविधानविपरीत भएको आशयको वक्तव्य जारी गरिसकेका छन् । निर्वाचन आयोग दलको मान्यता र आधिकारिकता कसलाई दिने भन्ने बारेमा कानुनी प्रक्रियामा रहेको देखिन्छ ।
सत्तामोहका कारणा टुट र फुटको राजनीति नेपालका सन्दर्भमा पहेली नै बनेर आएको छ
नेकपाको अर्को समूह (प्रचण्ड–नेपाल) मात्र होइन, नेपाली कांग्रेससमेतका अरु पार्टीहरू संसद पुनस्र्थापनाको एजेण्डासहित प्रधानमन्त्रीको उक्त कदमविरुद्ध सडकमा जाने निधो गरेका छन् । लोकतन्त्रमा सरकार प्रतिपक्षीसँग डराउनुपर्ने हो । तर हामीकहाँ प्रतिपक्षी पूरै भलादमी देखियो । ऊ कहाँ छ ? के गर्दै छ ? अत्तोपत्तो छैन । सत्तापक्ष सरकारको काम कार्वाहीको विरोधमा देखियो । परिणाम संसद भंग हुनेसम्मको अवस्था आयो ।
देश एक किसिमले राजनीतिक बिलखबन्दमा परेको छ । नेपाली जनताले त्रिशंकु सरकारबाट आजित भएर नेकपा नामको दललाई बहुमत दिएर पाँच वर्षका लागि पठाएको भए पनि जनताको मत कदर गर्न नसक्दा जनमत अहिले ‘बाँदरका हातको नरिवल’ भएको छ । इतिहासमा आफ्नै बहुमतको सरकार ढालेर प्रतिपक्षीमा बसेका गिरिजाप्रसादको शैली पुनरावृत्ति भएको छ । २०५१ सालकै नेपाली कांग्रेसको नियति अब नेकपाले भोग्नुपर्ने अवस्था आएमा पनि अन्यथा मान्नुपर्ने देखिदैन ।
असहिष्णुताको हद:
यतिबेला नेकपाभित्रका दुई खेमा एकले अर्कोलाई न्वारानदेखिको बल झिकेर गाली गलौज र चरित्र हत्यामा उत्रेका छन् । व्यंग्य मात्र होइन, अभिधा अर्थमा नै एकले अर्कोलाई गणतन्त्रविरोधी देख्न थालेका छन् । हिजोसमम लोकतन्त्रवादी, गणतन्त्रवादी र संघीयताका हिमायती भएका आज रातारात निरंकुशताका परिपोषक भनिएका छन् । विगतमा एउटै पार्टीमा बस्दासम्म भगवान ठानिएका एक्कासी राक्षसमा परिणत भएका छन् अनि राक्षस ठानिएका भगवान । एकले अर्कोलाई गणतन्त्रविरोधी र संघीयताविरोधी देख्न थालेका छन् । यो हदैसम्मको असहिष्णुता अहिले जरुरी थिएन ।
गालीगलौजको संस्कार:
राजनीतिमा आरोप, प्रत्यारोप र गालीगलौज अन्तर्राष्ट्रिय संस्कार नै बनेको छ । सन् १८०० को अमेरिकी राष्ट्रपति चुनावमा थोमस जेफरसनले राष्ट्रपतिका उम्मेदवार जोन एडम्सलाई ‘नपुंसक’ भनेका थिए भने उत्तरमा एडम्सले जेफरसनलाई ‘थाहा नभएको नश्लको सन्तान’ भनेका थिए । सन् १९९२ मा क्याब्रे डान्सर फ्लावरले बिल क्लिन्टनको चरित्रमाथि धावा बोलिन् । आफ्नो क्लिनटनसँग लामो समयदेखि अवैध सम्बन्ध रहेको कुरा प्रकट गरिन् । क्लिन्टनलाई चुनावी मैदानमा परास्त गर्ने विपक्षीको योजनामुताबिक उनले यो आरोप लगाएको प्रमाणित भयो । अन्ततः चुनाव क्लिन्टनले नै जिते । सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यासी हिलारी क्लिन्टनलाई पूर्वराष्ट्रपति क्लिन्टनको यौन लिप्साका बारेमा कुरा निकाले र इमेल प्रकरणमा गोप्य सूचना चुहाएको आरोपमा जेल हाल्ने कुरा गरे । यी दुुईले टेलिभिजन साक्षात्कार कार्यक्रममा हात सम्म मिलाएनन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को लोकसभा चुनावमा ‘खुनी पन्जा’ भन्दै कांग्रेस आईको चुनाव चिह्नमाथि कटाक्ष गरे । प्रतिउत्तरमा भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतीय जनता पार्टीका कार्यकर्तालाई ‘चोर र लुटेराको गिरोह’ भन्नुका साथै ‘इन्डियन मुजाहिद्दिनको समूह’समेत भने । स्वयं मोदीलाई चुनावी मैदानमा लो प्रोफाइल (चिया पसले), साम्प्रदायिक भनेर टिप्पणी गरियो । केही वर्षअघि उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘युद्ध रुचाउने बूढो मान्छे’ भनी टिप्पणी ग¥यो । जवाफमा ट्रम्पले उत्तर कोरियाली शासक (नेता) किम जोङ–उनलाई ‘आफूले पुट्के र मोटे नभन्ने’ बताए । यो साँच्चिकै हाम्रा बा भकारीभित्र लुकेका छैनन् भन्ने शैलीमा गरिएको व्यंग्यात्मक गाली थियो । यसअघि ट्रम्पले किम जोङ उनलाई ‘पागल’ र ‘सानो रकेट मान्छे’ भनेर जिस्काइसकेका थिए । यी दुुईको यो वाक्युुद्घलाई लिएर रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोमले ‘साना बच्चाको झगडा’ भनी कटाक्ष गरेका थिए ।
२०४८ को आम चुनावमा काठमाडांैबाट प्रकाशमान हार्दा चुनाव नै नलडेका गणेशमान सिंहले ‘अर्को जन्ममा काठमाडौंमा जन्मनुु नपरोस्, यहाँका मान्छेमा विवेक रहेनछ’ भनेका थिए । प्रतिउत्तरमा मदन भण्डारीले ‘हामी त भौतिकवादी परियो, यदि ईश्वर रहेछन् नै भने गणेशमानजीको यो इच्छा छिटै पूरा गरून् भनेका थिए । नियतिले भने उमेरले बूढो भए पनि कान्छो मदन भण्डारीलाई छिटै लग्यो ।
विगतमा कहिलेकाहीँ प्रचण्डले पनि ‘कहिलेकहीँ त सबै कुरा छताछुल्ल पार्दिऊँजस्तो लाग्छ’ भन्छन् । केपी ओलीले ‘त्यो मन यता सिलायो उता फाटेको छ, उता सिलायो यता फाटेको छ’ भन्दै प्रचण्डप्रति व्यंग्य गर्थे । यसपटक पनि उनले प्रचण्डप्रति व्यंग्यवाण तेर्साउँदै ‘पार्टी बैठकमा आउनुस क्षमा दिउँला, कार्यकारी खोसेपनि अध्यक्ष पद राखिदिएकै छु’ भनी कटाक्ष गरेका छन् । केही समय अघि डा. बाबुराम भट्टराईले एक जलविद्युत् परियोजनाबाट नेपाली कांग्रेस र नेकपाका शीर्ष नेताले ९÷९ अर्ब बाँडेर खाएको आरोप लगाए । उक्त आरोपप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रमाण पेस गर्न चुनौती दिए । प्रत्युत्तरमा भट्टराईले नारायणकाजीप्रति लक्षित गर्दै ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको धाक नदेखाऊँ’ भन्दै निष्पक्ष छानबिनका लागि अधिकारसम्पन्न जनलोकपाल गठनको माग गरे । रिसले नै होला ।
सन् २०२० मा भएको अमेरिकी राष्ट्रपति चुनावमा दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्पलाई जनताले मजासँग हराइदिए । सत्ताबाट बहिर्गमन हुने बेला ट्रम्पका समर्थकहरूले हालसालै अमेरिकी संसदमा देखाएको तिकडमले सत्ताको मोह कतिसम्म हुँदो रहेछ भन्ने कुरा प्रष्ट हुन्छ । यही सत्तामोहका कारणा टुट र फुटको राजनीति नेपालका सन्दर्भमा पहेली नै बनेर आएको छ । यी घटनाबाट हाम्रा नेताले अलिकति भए पनि पाठ सिक्ने कहिले ?