Home भर्खरै अन्योलमै कांग्रेसः निर्णय एउटा, धारणा अर्कै

अन्योलमै कांग्रेसः निर्णय एउटा, धारणा अर्कै

0
अन्योलमै कांग्रेसः निर्णय एउटा, धारणा अर्कै

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक तथा अलोकतान्त्रिक भन्दै आन्दोलन घोषणा गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पुनस्र्थापनाको विषयलाई उठाउने कि निर्वाचनमा जाने भन्नेमा अझै विवाद र अन्योलमै छ ।

कांग्रेसले गत १९ पुसको केन्द्रीय समिति बैठकबाटै संसद् विघटनको विरोधमा सर्वसम्मत निर्णय गर्दै आन्दोलनमा जाने घोषणा गरेको थियो । तर अझै पनि पुनस्र्थापनको विषयलाई उठाउने कि निर्वाचनमा जाने भन्नेमा शीर्ष नेताहरू नै विभाजित भएका छन् । सो विषयमा आइतबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एक कार्यक्रममा भनाभन नै भयो । देउवा निवास बूढानीलकण्ठमा भएको कार्यक्रममा वरिष्ठ नेता पौडेलले धारणा राख्दै गर्दा सभापति देउवाले पौडेलको प्रतिवाद गरे ।

पौडेलले संसद् पुनस्र्थापनको विषयलाई कांग्रेसले स्पष्ट रूपमा उठाउनुपर्नेमा सभापतिले नै ढुलमुले नीति लिएर भ्रामक पार्ने अभिव्यक्ति दिएको भन्दै संविधानलाई जोगाउन कांग्रेस आन्दोलनमै जानुपर्ने बताएका थिए । त्यसपछि पौडेललाई रोक्दै देउवाले संविधान बनाउँदा आफू पनि साक्षी रहेको भन्दै पौडेलको भनाइको प्रतिवाद गरेका थिए । सो क्रममा देउवाले अदालतले गर्ने निर्णय कांग्रेसले मान्ने भन्दै पौडेललाई जवाफ दिएका थिए ।

केन्द्रीय समितिको निर्णयअनुसार २५ पुसमा कांग्रेसले ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा संसद् विघटनको विरोध कार्यक्रम आयोजना गरेको थियो । सो क्रममा समेत देउवाले काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ को बूढानीलकण्ठमा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा अदालतले संसद् विघटनको निर्णय सदर गरे कांग्रेस निर्वाचनमा जाने बताएका थिए ।

‘संंसद् विघटनको विषयमा अदालतमा मुद्दा परेको छ, अदालतमा विचाराधीन रहेको मुद्दामा अदालतले के निर्णय गर्छ, कांग्रेसले कुर्छ, सदर गरे कांग्रेस निर्वाचनमा जान्छ,’ सभापति देउवाले विरोधसभालाई सम्बोधन गर्दै भनेका थिए ।

कांग्रेसले संसद् विघटनको विरोधमा ३ माघमा ७५३ पालिका र ८ माघमा देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तयसमेत गरिसकेको छ ।

सभापतिको धारणा पार्टी निर्णयविपरीत: पौडेल
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको मुख्य नीति संविधानलाई केन्द्रमा राख्ने रहेको बताउँदै आन्दोलनमा नै जाने तर्क दिएका छन् । उनले संविधानविपरीतका विषयलाई संविधानअनुकूल बनाउनेतर्फ स्पष्ट रूपमा कांग्रेस अघि बढ्नुपर्नेमा केन्द्रीय समितिको निर्णयविपरीत सभापतिको धारणा आएको र सभापतिको धारणा नै भ्रामक भएको बताए ।

‘संविधानविपरीत भएका कुरालाई संविधानअनुकूल ल्याउने कांग्रेसको दायित्व र जिम्मेवारी हो, कांग्रेसको नीति के हो ? यो जिम्मेवारी र दायित्व कांग्रेसको हो कि होइन ?’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने । उनले सभापतिले नै संसद् विघटनको मुद्दालाई अदालतले सदर गरे कांग्रेस निर्वाचनमा जान्छ भन्नु बैठकको निर्णयविपरीत रहेको र भ्रामक भएकोसमेत बताए ।

‘सभापतिले नै संसद् विघटनको मुद्दालाई अदालतले सदर गरे कांग्रेस निर्वाचनमा जान्छ भन्नु बैठकको निर्णयविपरीत हो, यो भ्रान्तिपूर्ण धारणा हो,’ पौडेलले भने ।

निर्वाचन पछिको विषय हो: कोइराला
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले समेत सभापतिको धारणामा आपत्ति जनाएका छन् । उनले कांग्रेसको पहिलो प्राथमिकता संविधानको ट्र्याकबाट बाहिर गएको विषयलाई संविधानको ट्र्याकमा ल्याउने रहेकाले निर्वाचन पछिको विषय भएको बताएका छन् ।

‘संसद् विघटन संविधानको ट्र्याक बाहिरबाट गरियो, कांग्रेसको पहिलो जिम्मेवारी संविधानको ट्र्याक बाहिरबाट भएको संसद् विघटनलाई ट्र्याकमा ल्याउने हो । निर्वाचन पछिको कुरा हो, आम जनाताको भावनाअनुसार पहिले संसद् पुनस्र्थापना गर्नतर्फ पार्टीले दबाब दिनुपर्छ,’ महामन्त्री कोइरालाले राजधानीसँग भने ।