न छ टेक्ने ठाउँ, न छ बस्ने गाउँ ।
न छ कतै कसैले चिन्ने त्यस्तो कुनै नाउँ ?
मधुरो धुनमा गाडीमा गीत बजिरहेको थियो । सोमबार बिहान इटहरी–२ मा रहेको संगीत साधना प्रतिष्ठानमा उपस्थित भएका मानिसहरूको आँखा रसाएका देखिन्थे । अन्य समयमा गीत, संगीत, कला साहित्यका कार्यक्रममा सहभागी हुन आउने मानिसहरू यसबेला भने शोकसभाका लागि आएका थिए ।
२०२३ वैशाख १६ गते इटहरी–२ को थारू समुदायमा जन्मिएर नेपाली गीत, संगीत र कलाको क्षेत्रमा ठूलो योगदान पु¥याएका राम धामीको आइतबार साँझ निधन भएपछि उनको अन्तिम श्रदाञ्जलीका लागि आएका मानिसहरूको आँखा ओभाएनन् । धामीको अन्तिम बिदाइमा आएका कलाकर्मी, साहित्यकर्मी तथा संगीतकर्मीहरूले उनको पार्थिब शरीरमा फूलमाला पहि¥याउँदै अन्तिम श्रदाञ्जली दिए ।
धामीको फोक्सोमा निमोनिया भएका कारण निधन भएको थियो । केही समय अगाडि कोरोनापीडित भएका धामी कोरोनामुक्त भएपनि उनको छातीमा निमोनिया भएकाले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचाररत थियो । उपचारकै क्रममा उनको आइतबार साँझ निधन भएको हो ।
धामीको नेपाली गीत संगीतको क्षेत्रमा ठूलो योगदान रहेको र उनलाई इटहरीबासीले गुमाउनु अपूरणीय क्षति पुगेको संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले बताए । संगीत साधना प्रतिष्ठानका अध्यक्षसमेत रहेका धामी देशले नै बिर्सन नहुने कला छाडेर बिदाइ भएको उनले बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसमेत रहेका उनको व्यक्तित्व शालीन र सरल स्वभावको थियो । संगीत सिकाएकै भरमा संकटकालको समयमा तीन महिना बढी समय जेल समेत परेका उनमा सानैदेखि संगीतप्रतिको मोह थियो । उनी भन्ने गर्थे, ‘अनुशासन र धैर्यता नै जीवनको सफलता हो । मेरो लागि संगीत नै जीवन हो ।’ एक सय बढी गीतमा संगीत भरसकेका धामीले दर्जनौँ गीतमा स्वर दिइसकेका छन् ।