इलाम । केन्द्रीयस्तरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि विस्तारै यसको असर जिल्लास्तरमा देखिन थालेको छ । औपचारिक रूपमा विभाजित भएपछि इलाममा समेत यसको प्रभाव पर्न थालेको छ ।
दाहाल–नेपाल पक्षधरमा रहेका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा (ओली समूह) नेता सुवासचन्द्र नेम्वाङको गृहजिल्ला रहेको इलाममा दुवै पक्षका क्रियाकलाप भईरहेका छन ।
अहिले नेकपाका दुवै समूहले जिल्लादेखि स्थानीय तहसम्मका आफ्ना कमिटी गठन गर्दैछन् । आफ्नै दल तर फरक समूहका पदाधिकारीलाई पदमुक्त गर्दै त्यस पदमा आफूनिकटलाई मनोनित गरिरहेका छन् । स्थानीय तहका जनप्रतिनिधि र जिल्ला कमिटीका पदाधिकारी, सदस्य, भ्रातृ संघ–संगठन आफूअनुकूल बनाउन दुवै समूहले कसरत गरिरहेका छन् । जिल्ला कमिटीमै फाटो आएपछि जिल्ला तहको एउटै बैठक पनि दुवै समूहले अलग–अलग ढंगले सम्पन्न गरेका छन् । बैठक मात्र होईन युवा भेला समेत दुईसमूहका फरक फरक हुन थालेका छन ।
राष्ट्रपतिको चक्करले झलनाथ अर्को समूहमा लागे
पूर्व उद्योगमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले झलनाथ खनाल राष्ट्रपति हुने चक्करले प्रचण्ड–नेपाल समूहमा लागेको बताएका छन् ।
इलाममा आयोजित नेपाल कम्युनिष्ट पार्टी ओली समुहका नेकपा कार्यकर्ताहरूको युवा भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले खनाल राष्ट्रपति हुने चक्करले प्रचण्ड नेपाल समूहमा लागेको बताएका हुन् ।
प्रचण्डले खनाललाई राष्ट्रपतिको आश्वासन दिएका कारण ओली विरुद्घ लागेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर खनाल राष्ट्रपति बन्ने दाउमा लागेको भन्दै बस्नेतले विवेकहिन तत्व सलबलाएको बताए । ‘माधवकुमार नेपाल र झलनाथ खनालले कम्युनिस्ट आन्दोलनको इतिहास बिर्सिनुभयो,’बस्नेतले भने,‘चुनाव चिन्ह सूर्य हो, सूर्य चिन्ह हाम्रै हो ।’ मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सुशासन, भ्रष्टाचारमुक्त, विकास निर्माणमा लागेका प्रधानमन्त्री ओली राजनेता भएको दावी गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने खेलमा प्रचण्ड र नेपाल समूह लागिपरेको आरोप लगाए ।
जनताको चाहना बमोजिम राष्ट्र निर्माण र एकताको पक्षमा प्रधानमन्त्री ओली रहेकोले बस्नेतले बताए । नेकपा इलाम जिल्ला कमिटी अध्यक्ष एवम् भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम रानाले इलाममा ८० र २० को अवस्था रहेको भन्दै कार्यकर्तालाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् ।