सिन्धुपाल्चोक । सिन्धुपाल्चोककै नमुना सहकारीको रुपमा उत्कृष्ट कारोबार गर्दै आएको आत्मनिर्भर बचत तथा ऋण सहकारीले २३ औ बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।
सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा रहेको आत्मनिर्भर सहकारीले साविकको थुम्पाखर,ठुलोपाखर,जेठल, सुनखानी र पाँग्रेटर गाउँ विकास समितिलाई आफ्नो कार्यक्षेत्र बनाएर विगत २३ वर्षदेखि स्थानीयको वित्तीय आवश्यकता पुरा गर्दै आइरहेको छ ।
हाल सुनकोशी र लिसंखुपाखर गाउँपालिका कार्यक्षेत्र रहेको सहकारीमा हाल ३ हजार बढी शेयर सदस्य रहेको सहकारीको अध्यक्ष नमराज सुवेदीले जानकारी दिए । सहकारीले बचत ऋण कारोबार सँगै केन्द्रीय बचत तथा ऋण सहकारी संस्था नेफस्कुन सँगको प्राविधिक सहयोगमा लघु वित्त कार्यक्रम समेत सञ्चालन गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
समुह मार्फत बचत संकलन र ऋण परिचालन गर्दे आएको सहकारीले आफ्नो कार्यक्षेत्र भित्र ४७ लघुवित्त समुहहरु गठन गरेर वित्तीय कारोबार गर्दे आएको सहकारीका अध्यक्ष सुवेदीले जानकारी दिए ।
३ हजार बढी शेयर सदस्यहरुबाट ५७ लाख ८९ हजार ८ सय रुपियाँ शेयर कारोबार सहकारीले गरेको सहकारीका प्रबन्धक विपी प्याकुरेलले जानकारी दिए । १६ करोड १ लाख रुपियाँ गत आर्थिक वर्षमा कुल कारोबार गरेको सहकारीले १० लाख ९५ हजार रुपियाँ कुल नाफा गरेको प्रबन्धक प्याकुरेलले जानकारी दिए ।
सहकारीले विगत वर्षदेखि आफ्ना शेयर सदस्य लगायत स्थानीयको सुविधालाई ध्यानमा राखेर रेमिट्यान्स सेवा समेत सुरु गरेको छ । रोजगारीको लागि विदेशमा रहेका आफन्तहरुले आफ्नो घर छेउकै सहकारी मार्फत रकम पाउँने सुविधा पाउँदा खुसी भएको सहकारीको साधारण सभामा आएका सदस्यहरुले खुसी व्यक्त गरेका थिए ।
सहकारीले आगामी वर्षदेखि विद्युतीय कारोबार मार्फत सहकारीलाई प्रविधि मैत्री बनाउने योजना रहेको सहकारीले जानकारी दिएको छ । सबै कारोकार सफटवेयर मार्फत गर्दे आएको सहकारीले आगामी वर्षदेखि सहकारीको छुट्टै एप्स समेत सञ्चालनको तयारी गरेको छ ।
ग्रामीण क्षेत्रमा रहेका सहकारीलाई स्थानीयले आफुले दुःद गरेर आर्जन गरेको थोरै रकम समेत गाउँमा नै बचत गर्ने बानीको विकास भएको प्रबन्धक प्याकुरेलले बताए । केही दुःख पर्दा आर्थिक समस्या हुन साथ सदस्य ज्युहरु सहकारीमा नै आउनु हुन्छ प्रवन्धक प्याकुरेलले भने–बाख्रा कुखुरा बिक्री गरेर केही आर्जन भयो भने त्यो पनि सहकारीमा नै जम्मा गर्न आउनु हुन्छ ।
सहकारीको २३ औ साधरण सभाको अवसरमा सहकारीको पुर्व अध्यक्ष एवम वागमती प्रदेश सहकारी संस्थाका सदस्य चक्रबहादुर बस्नेतलाई सम्मान गरिएको थियो । त्यस्तै सुनकोशी गाउँपालिका–६ का वडा अध्यक्ष रामकुमार थापालाई पनि सहकारीको भवन निर्माण लगायत अन्य भौतीक संरचना निर्माणमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको थियो ।
साधारण सभामा वडा अध्यक्ष थापाले आत्मनिर्भर सहकारीले यस क्षेत्रको स्थानीयको दुःखमा साथ र सहयोग गरेको भन्दै आगामी दिनमा गाउँपालिका र वडाको तर्फबाट सहकारीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सहकारीले विभिन्न क्षेत्रको सहयोगमा यस वर्ष मात्रै आफ्नै सुविधा सम्पन्न दुइ तले भवन समेत निर्माण सम्पन्न गरेको छ । आफ्नै भवन भएपछि कार्यालयको दैनिक कार्यमा समेत सहयोग भएको सहकारीका कर्मचारी सिताराम केसीले बताए ।
सहकारीको साधरण सभाको अवसरमा अल्पायुमा नै निधन भएको सहकारीका सदस्य गंगा सार्कीको परिवारलाई सदस्य सुरक्षण बचतबापत जम्मा भएको १ लाख रुपियाँ उनको श्रीमान राजकुमार रोक्कालाई हस्तान्तरण गरिएको थियो ।