विश्वव्यापी कोरोना महामारी संक्रमणसँगै थला परेको देशको उद्योग व्यवसाय सञ्चालनका लागि सञ्चालकहरूले आवश्यक पर्ने ऋण कर्जा सरकारी निकायबाटै पाउन नसकेका कारण व्यवसाय झनै चौपट हुने हो कि भनी व्यवसायी चिन्तित हुन थालेका छन् । उनीहरूका अनुसार अनुदानको त सम्भावना नै रहेको छैन, सहुलियत ऋणसम्म पनि पाउन नसक्दा उद्योग व्यवसायको विकास त परै जाओस् सञ्चानसम्म गरिराख्न पनि निकै कठिनाइ परिरहेको छ । देशमा रहेका उद्योग व्यवसायमध्ये ४ प्रतिशत मात्रै राम्रो गरी सञ्चालनमा आएका र अन्य सबै समस्यामा रहेकाले उनीहरू उद्धारकर्ताको पर्खाइमा रहेका छन् । केही पुनः सञ्चालनमा आउन नसक्ने अवस्थामा छन् भने बाँकी रहेका ५० प्रतिशतभन्दा बढी सहुलियत ऋण पाएमा पुनर्जीवन प्राप्त गर्ने अवस्थामा छन् । अहिलेको तथ्यांकअनुसार करिब १० प्रतिशत उद्योग व्यवसाय सदाका लागि बन्द भइसकेका छन् । सरकारी तथ्यांकले देखाएअनुसार २०७७ साउन–भदौसम्म निकै मुर्झाउन पुगेका उद्योग व्यवसाय २०७७ मंसिरसम्म आउँदा आफ्नै बल र पौरखले केही सुधारोन्मुख हुँदै गएका छन् । असार–साउनको तुलनामा केही उद्योग व्यवसायको उत्पादन एवं कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत सामान्य सुधार आएको देखिन्छ ।
महामारीको त्रासले जनप्रवाहमा कमी आएपछि बजार भनेझैं चल्न सकिरहेको छैन । पहिलेको तुलनामा बजार माग निकै घटेर गएको छ । खुलेका उद्योग व्यवसायमा कारोबार पनि निकै कम हुने गरेको छ । माग र आपूर्तिमा हुन गएको यो कमीले उद्योग ह्रासोन्मुख अवस्थामा नै छन् । सामान्य सञ्चालन खर्च धान्न कठिनाइ भइरहेको उद्योगी व्यवसायीको गुनासो रहेको छ । नेपालमा कुनै पनि उद्योग व्यवसाय सञ्चालनका लागि लगानी गरिने पुँजी एक त सानो स्केलमा हुन्छ, त्यसमा पनि बीचमा रिस्क लिनुपरेमा त्यसलाई माथि उठाउन सकिने सञ्चित पुँजी नै हुँदैन । यसले गर्दा आइपर्ने जोखिम जुनसुकै बेलामा पनि मोल्न र थप गति लिनका लागि अघि बढ्ने मौका नेपाली उद्यमीका लागि विरलै हुन्छ । आर्थिक रूपमा संकट आइपर्यो कि, कि त महँगोमा ऋण लिने कि त व्यवसाय नै छोड्नुपर्ने अवस्था सिर्जना हुन जान्छ । निम्न पुँजीवादी उत्पादन प्रणाली, टुट पुँजीको प्रचलन र साना परिमाणमा पुँजी निर्माण र सञ्चालनले नेपाली उद्योगी व्यवसायीलाई उँभो लाग्नबाट निकै समस्यामा पारिरहेको छ ।
यतिबेला नेपालको पुँजी निर्माण र लगानीको विशेषता हेरेर सरकारले यी उद्योगी तथा व्यवसायीहरूका लागि निकै सहुलियतपूर्ण ब्याजमा ऋण उपलब्ध गराउने वस्तुवादी योजना निर्माण गर्नुपर्छ । बैंक पनि यसैका आधारमा निर्माण गरिनुपर्छ । हाल रहेका मुनाफामुखी बैंकहरूलाई सहुलियत पूर्ण ऋण दिने, सेवामा कर्जा प्रवाह गर्ने, वा निस्चित मात्रामा कृषि वा पशुपालनमा ऋण दिने भनेर मात्र हुँदैन । यो त केवल औपचारिक तथा पूरा गरेको जस्तो मात्र हुन आउँछ । तर, उद्योगी व्यवसायीका लागि आजै र आजकै दिनमा ऋण पाउनु जरुरी भइसकेको छ । सरकारको नीति र योजना ‘अघाएकाले डाडापारि खाऊँ’ र ‘भोकाएकाले डाडावारि खाऊँ’ भनेझैं हुन नजाओस् । समयमै कर्जा उपलब्ध गराएर उद्यमी व्यावसायीको उद्यम चौपट हुनबाट जोगाउन सरकारले थप सहुलियापूर्ण ऋणको व्यवस्था गरोस् ।