काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले आफू नै आधिकारिक नेकपा भएको भन्दै निर्वाचन आयोगलाई जवाफ पेस गरेका छन् । पार्टी आधिकारिकतासम्बन्धी विवाद भएपछि आयोगले दुवै समूहसँग सात दिनभित्रमा ऐननियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको थियो ।
सात दिने म्यादको अन्तिम दिन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार आयोगलाई जवाफ पेस गरेका हुन् ।
आयोगलाई पत्र पठाउँदै अध्यक्ष ओलीले पार्टी विभाजन नभएको जिकिर गरेका छन् । दाहाल दोस्रो वरीयताको अध्यक्ष र नेपाल वरिष्ठ नेता कायम नै रहेको ओलीको पत्रमा उल्लेख छ । दाहाल–नेपाल समूहले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्दै उनको ठाउँमा नेपाललाई नियुक्त गरेको विवरण पेस गर्नुको औचित्य र वैधानिकता नभएको पत्रमा उल्लेख छ ।
‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनुभएको छ । यसरी दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरी दायर गरेको निवेदन हकदैयाविहीन र औचित्यहीन छ,’ अध्यक्ष ओलीले आयोगलाई पत्र लेख्दै भनेका छन् ।
अध्यक्ष दाहाल समेतले आयोगमा पत्र पठाई पार्टी विभाजनको हिसाबले पत्राचार गरे पनि नेकपा विभाजन नभएको जिकिर ओलीले आफ्नो पत्रमा गरेका छन् ।
पार्टी विभाजन भएको छैन: ओली समूह
हामी आधिकारिक: दाहाल–नेपाल समूह
‘मेरो नेतृत्वमा आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरी सो महाधिवेशन नभएसम्मका लागि पार्टीको प्रमुख पदाधिकारी तथा प्रथम अध्यक्षको नाताले पार्टी एकीकरण गर्दाको मर्म, भावनाअनुरूप र विधानको धारा १८ (झ) (२) र ५ बमोजिम गठन भएको केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल साविकमा झैं दुई नम्बर अध्यक्ष हुनुहुन्छ, अर्को दाबीकर्ता माधवकुमार नेपाल वरिष्ठ नेता रहनुभएको छ । यसरी नै उहाँहरूले पेस गरेको भेलाको माइन्युटमा हस्ताक्षर गर्ने साथीहरूमध्ये धेरैले मिति २०७७ साल ७ र ९ पुसमा बालुवाटारमा महासचिवले अध्यक्षको परामर्शमा बोलाउनुभएको बैठकमा हस्ताक्षर गर्नुभएको छ,’ अध्यक्ष ओलीले लेखेका छन् ।
पार्टीमा विवाद भएपछि नेकपाको ओली र दाहाल–नेपाल दुवै समूहले एक अर्कालाई कारबाही गर्दै आयोगमा अभिलेखीकरणका लागि पत्राचार गरेका थिए । तर आयोगले राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र पार्टीको विधानअनुसार आवश्यक सुधारसहितको विवरण पठाउन दुवै समूहलाई सात दिनको समय दिएको थियो ।
ओलीले केन्द्रीय कमिटीमा सदस्य बनाउन डमरु बजाउनुभएको छ
माधवकुमार नेपाल
प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि दुवै समूहले छुट्टाछुट्टै बैठक, भेला र निर्णय गर्दै एकले अर्कोलाई कारबाही प्रक्रिया अगाडि बढाएका छन् ।
यसैगरी दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई पत्र बुझाएर प्रधानमन्त्री ओलीलाई अन्तरिम विधानअनुसार कारबाही गरिएकाले अनुसूचीअनुसार सुधार, आधिकारिकता दाबी आवश्यक नरहेको जनाएको छ । आयोगले मागेका कागजात र विवरण आफूहरूले पहिले नै पठाइसकेको जवाफ दाहाल–नेपाल समूहले दिएको छ ।
दाहाल–नेपाल समूहले आयोगलाई संवैधानिक अंगको धर्म नबिर्सिन र त्यसले पार्न सक्ने दूरगामी असरबारे सोच्न आग्रह गरेको छ । दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी, मुक्ति प्रधानसहितको समूहले आयोगमा पुगेर आधिकारिकता दाबी गर्नु नपर्ने, विधानअनुसार अनुशासनको कारबाही गरेर अध्यक्ष मात्रै परिवर्तन गरेको जनाएका छन् ।
दाहाल–नेपाल समूहले झन्डै दुई तिहाइ केन्द्रीय सदस्य आफूहरूसँग रहेकाले आफूहरू नै मूल नेकपा भएको दाबी गर्दै आएको छ भने ओली पक्षले पहिलो वरीयताको अध्यक्ष र महासचिवबिनाका बैठक आधिकारिक नहुने जिकिरसहित आफूहरू आधिकारिक नेकपा रहेको दाबी गरेको छ ।
ओलीले आफूलाई संसारकै ठूलो ठाने: दाहाल
यसैबीच नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले आफूलाई संसारकै ठूलो ठान्ने गरेको आरोप लगाएका छन् । नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा बुधबार आयोजना गरेको जिल्ला भेलामा अध्यक्ष दाहालले ओलीले ट्रम्प, मोदी, सी चिनफिङभन्दा पनि आफू ठूलो रहेको ठान्ने गरेकाले आफूलाई नटेरेको बताए ।
‘ट्रम्प, मोदी र सी चिनफिङभन्दा ठूलो ठानेपछि हामीलाई उहाँले टेर्ने कुरो आएन,’ दाहालले भने, ‘उहाँ पेट फुलाउँदै हुनुहुन्छ । कुन दिन पेट भ्याट्ट फुट्छ । के गर्ने, हामी हेरिरहेका छौं ।’
ओलीले ‘आई एम द स्टेट’ भन्ने ठानेको दाहालको आरोप छ । तर संसारभरका तानाशाह र निरंकुशहरूले यस्तै भन्ने गरेको टिप्पणी उनले गरे । गणतन्त्र र संविधानविरोधी भएकाले जनता र आफूहरूले ओलीलाई त्यसै छाड्न नसकिने उनले बताए । ‘सच्चिए होलान् कि भन्ने ठानेको, के पो हुन्थ्यो कुकुरको पुच्छर जति तेल लाए पनि बांगाका बांगै । सबैभन्दा बढी तेल त मैले लगाएँ होला यी तीन वर्षमा,’ दाहालले भने ।
सोही भेलालाई सम्बोधन गर्दै सोही समूहका अध्यक्ष नेपालले ओली नेतृत्वको नेकपालाई सडकछापको दर्जा दिएका छन् । ‘ओलीले केन्द्रीय कमिटीमा सदस्य बनाउन डमरु बजाउनुभएको छ । सदस्यलाई बढाएर १५ सय पु-याउनुभएको छ । सुन्दै छु २५०० पु-याउँदै हुनुहुन्छ । त्यतिले पनि पुगेन भने ५००० पु-याउने होला । उहाँको सडकछाप पार्टीमा को–को छन् ? हेर्दै जानुहोला । त्यहाँबाट केही फर्किंदै हुनुहुन्छ । त्यो पार्टी पौवा होइन, सडकको धुलोमा पुग्नेछ,’ नेपालले भने ।