बाह्रबिसे । पहिरोबाट विस्थापित भएर आफ्नो थातथलो छाडेर बासखर्कको वन क्षेत्रमा बस्दै आएका लिदी पहिरो पीडितहरुलाई लक्षित गरेर नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरेको छ । टेन्टमा बसिरहेका लिदी पहिरो पीडितहरु चिसोको कारण बिरामी हुन थालेपछि नेपाली सेनाको गोरखबक्स गण चौताराले एक सातासम्म बासखर्कमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
अस्थायी टेण्टमा बस्दै आएका १ सय २९ जनाको स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य परिक्षण र औषधीसमेत वितरण गरिएको नेपाली सेनाका गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मसकुमार श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँगको समन्वयमा भएको निःशुल्क स्वास्थ्य शिविरमा नेपाली सेनाको विशेषज्ञ डाक्टर सहित चौतारा अस्पतालका स्वास्थ्यकर्मीहरु समेतको सहभागीता रहेको थियो । स्वास्थ्य शिविरमा अधिकाश चिसोका कारण विरामी भएकाहरुले स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य शिविरमा नेपाली सेना नम्बर २६ गुल्मले समेत सहयोग गरेको प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए ।
नेपाली सेनाले विस्थापितहरु रहेकै स्थानमा गएर स्वास्थ्य परिक्षणपछि औषधी समेत वितरणले विस्थापितहरुलाई ठुलो राहात मिलेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले बताए । आगामी दिनमा पनि नेपाली सेनासँग समन्वय गरेर गाउँपालिकाले बिस्थापित लक्षित अन्य जनप्रिय कामहरु समेत सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए ।
त्यसैगरी विस्थापित शिविरका बालबालिका अध्ययन गरिरहेको स्थानीय सातकन्या आधरभुत विद्यालयका विद्यार्थीहरुलाई प्रमुख सेनानी श्रेष्ठले आवश्यक स्टेशनरी सामग्रीहरु समेत वितरण गरेका थिए । विद्यालयमा अध्ययनरत २८ जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको नेपाली सेना गोरखबक्स गणले जानकारी दिएको छ ।