काठमाडौं । दस महिनासम्म नयाँ चलचित्र नआएका नेपालका फिल्म हलमा अभिनेता शिव श्रेष्ठले बिहीबारबाट देशव्यापी रूपमा आफ्नो नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज गरेका छन् । यसरी १० महिनापछि माघेसंक्रान्तिको अवसर पारेर नयाँ चलचित्र हलमा आउँदा दर्शकहरू हलसम्म पुगेको श्रेष्ठको भनाइ छ ।
आफ्नो फिल्मको प्रचारका लागि शुक्रबार धरान र विराटनगर पुगेको यो चलचित्रका अभिनेता तथा निर्माता शिव श्रेष्ठले चलचित्रको व्यापारबारे भने, ‘धरान र विराटनगरका फिल्म हलमा हिजोबाटै दर्शकको उपस्थिति सोचेको भन्दा राम्रो छ । हामीले यो चलचित्र देशभरका १ सयभन्दा बढी हलमा रिलिज गरेका छौं र हलमा दर्शकको आगमन सोचेको भन्दा केही राम्रो छ ।’
अझै पनि कोभिड–१९ निर्मूल नभएको र यसअघि हल खोल्दा दर्शक नआएको अवस्थामा आफूले नयाँ चलचित्र रिलिज गर्दा हलमा दर्शक आउन थालेको उनले बताए । शिवका अनुसार हलमा भएका सिटहरूमध्ये एक–एक वटा सिट छाडेर ५० प्रतिशत सिटमा दर्शक राखिएको छ । हलका आधा सिटमा दर्शकको उपस्थिति सन्तोषजनक भएको पनि अभिनेता श्रेष्ठले बताएका छन् ।
नायक शिव श्रेष्ठको छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविता मानन्धरले यो चलचित्रबाट नायक नायिकको रूपमा डेब्यु गरेका छन् । शक्ति र कविताले अभिनय गरेको यो चलचित्र माघेसंक्रान्तिको अवसर पारेर रिलिज गरिएको हो ।
गएको महिना १० पुसबाट सिनेमा हल खुले पनि हलमा नयाँ फिल्म नभएका कारण दर्शकको उपस्थिति शून्यजस्तै थिए । नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज भएपछि बिस्तारै दर्शकहरू हलमा देखिन थालेका हल सञ्चालकहरूले बताएका छन् ।
शक्ति कविताले डेब्यु गरेको यो चलचित्रमा शिव श्रेष्ठसँगै प्रियंका कार्की, वर्षा राउत, आयुषमान देशराज जोशी, संजोग कोइराला, सम्यक दर्शनधारी, बसुन्धरा भुसाल, आङतेम्बा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोङलगायतले अभिनय गरेका छन् । फिल्मलाई शिव श्रेष्ठसँगै दिनेश दर्शनधारी, यशोदा राई, सुनिल कटुवाललगायतले निर्माण गरेका हुन् ।
यो चलचित्रका वितरक तथा नेपाल चलचित्र संघका उपमहासचिव गोपाल कायस्थले यो चलचित्रको व्यापारबारे भने, ‘अहिलेको अवस्थामा नेपाली चलचित्रमा दर्शकको भिड देख्न पाइन्छ भन्ने कल्पना हामीले गरेका छैनौं । जेजति दर्शक चलचित्र एउटा यस्तो प्रेम कहानी हेर्न आएका छन् । त्यो संख्या सन्तोषजनक नै रहेको पनि कायस्थले बताएका छन् ।
एकातिर माघको चिसो र अर्कोतर्फ कोरोनाको कहर अझै रहेकाले दलर्शकहरू हलमा आउने आशा हल सञ्चालकहरूको यसअघि थिएन । तर, बिस्तारै हलमा दर्शक आएका कारण हल सञ्चालकहरूको आशा पलाएको पनि वितरक कायस्थले बताएका छन् । यस्तो अवस्थामा रिलिज गरिएको चलचित्रलाई प्रोत्साहन गर्नुपर्छ भनेर फिल्म हलहरूले अभिनेता शिव श्रेष्ठले यो चलचित्रको व्यापारबापतको ५५ प्रतिशतसम्म सेयर दिएको पनि नेपाल चलचित्र संघका उपमहासचिव कायस्थले राजधानीलाई बताएका छन् ।
अहिलेको अवस्थामा हलभरि दर्शक हुने आशा आफूहरूले नगरेको र नयाँ फिल्म हरेक साता रिलिज गरिएमा आगामी नयाँ वर्षसम्ममा दर्शक हाउसफुल देख्न पाइने आशामा हल सञ्चालकहरू रहेको पनि कायस्थले बताएका छन् ।