एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सांकेतिक तस्वीर

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया धामीको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् ।

१ बैशाख २०६८ मा आमाको एचाआइभी÷एड्सबाट मृत्यु भएको थियो भने उनका बुबा इन्दिलको समेत सोही वर्ष तीनदिन पछि मृत्यु भएको थियो । आफूसमेत एचआइभी एड्सबाट पीडित भएपछि घरमा सानो भाई १२ वर्षिय नानुसँगै बस्दै आएकी अमैयाको स्वास्थ्य अवस्था गम्भिर भएपछि दुई साताअघि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा आइतबार बिहान अमैयाको मृत्यु भएको अस्पतालका मेसु झाले बताए । उनका १२ वर्षीय भाईसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधी खाने गरेको उनका मामा मनोज धामीले सुनाए ।

आइतबारै मृतकको शव उनका मामाले बुझिलगेको अस्पतालस्थित प्रहरी बिटका हवल्दार रामशंकर यादवले बताए । यता एचआइभी एड्सले एउटा परिवारको वंश नै नाश हुने स्थितमा पुगेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।