इलामको सूर्योदय नगरपालिकाले कोभिड–१९ को महामारीमा दाताले दिएको चामल समयमै वितरण नगर्दा कुहिएर खाल्डोमा पुरी नस्ट गरेको छ । एकातिर लकडाउनका कारण मजदुर भोकभोकै पर्नु र अर्कातिर दाताबाट आएको चामललगायतका सहयोग सामग्री समय सिद्धिएर वा भण्डारण कक्ष नराम्रो भएका कारण बिग्रिएर नष्ट गरिनु निकै विडम्बनाको कुरा हो । त्योभन्दा पनि बढी खेदजनक कुरा त के हो भने सरकार तथा सरकारी निकायको यस्ता कार्यमा हुने विलम्ब, अटेरी, बेवास्ता र अनिच्छा देखिनु हो । यसले जनता वा लक्षित समूह वा वर्गप्रति सम्बन्धित निकायको बेवास्ता कुन हदसम्म रहेको छ भन्नेको सहजै अनुमान गर्न सकिन्छ ।
सूर्योदय नगरपालिकाले नष्ट गरेको चामल उच्च क्वालिटी तथा जातको भएको तर त्यसको भण्डारण उचित रूपमा हुन नसकेकाले नस्ट गरिएको हो । आफू मातहत आएका वस्तु तथा चिजको हेक्का र लेखाजोखा नगरिनु, लापरबाही हुनु, ध्यान नदिनु र जनताप्रति उत्तरदायी नहुनुको परिणाम हो यो । इलाममा मात्र होइन, यस्ता गलत काम देशका अन्य निकायमा पनि भइरहेका छन् । स्वयं सम्बन्धित तहको सरकार नै यसमा जिम्मेवार हुन सकिरहेको छैन ।
नेपालको संविधानमा खाद्यसुरक्षालाई मौलिक अधिकारअन्तर्गत राखिएको छ । यसमा निकै चासो र चिन्ता पनि प्रकट गरिएको छ । किनकि, यो केवल खाद्य र खाद्यान्न मात्र नभएर जीवन रक्षाको कुरा हो । स्वास्थ्यसम्बन्धी कुरा हो । त्यसैले यो सार्वजनिक चासोको विषय हो । संविधान तथा कानुनी रूपमा भोकमरीको अन्त्य र खाद्यसुरक्षाको विषयलाई प्राथमिकतामा सम्बोधन गरिएको छ । तर, त्यसको व्यावहारिक प्रयोगमा भने सधैं समस्या देखिइरहेको छ । केन्द्रीय खाद्य गोदामबाट बर्सेनी संयौं क्विन्टल धान वा चामल नस्ट गरिँदै आएको छ । खाद्यसुरक्षा’boutमा उचित व्यवस्थापन हुन सकिरहेको छैन । यसको अनुगमन र निरीक्षण तथा खाद्य आवश्यकता भएका ठाउँमा वितरण गरिने उचित व्यवस्था पनि मिलाइएको छैन । यस’boutमा सबैभन्दा बढी जानकार सम्बन्धित कार्यालयका कर्मचारी नै हुन्छन् । त्यसमा पनि भण्डारण गर्ने मजदुर, कार्यालय सहयोगी तथा तल्ला तहका कर्मचारी यसमा बढी जानकार हुन्छन् । तर, नियमन र अनुगमनका क्रममा माथिल्लो ओहदाका कर्मचारीबीचमा कुराकानी र बैठक हुन्छ । यसले भण्डारण कहिले गरिएको, कसले गरेको, कति परिमाणमा गरेको, समय सीमा रहेको नरहेको आदि कुराको पत्तै हुँदैन ।
यसका लागि तथ्यांक तथा विवरण अध्यावधिक गर्ने, मातहत तथा उपल्ला निकायसँग संयोजन र सहकार्य गर्ने तथा आवश्यक परेका स्थानमा खाद्यान्न आपूर्ति तथा वितरण गर्ने आदि कार्यलाई सुचारु गरिनुपर्छ । प्रतिनिधिलाई कुरा र भाषण गर्नै ठीक्क, कर्मचारीलाई कलम र ढड्डा उठाउँनै ठिक्क हुने तर काम प्रभावकारी नहुने परिपाटीको अब अन्त्य हुनैपर्छ । खाद्यसामग्री अखाद्यमा परिणत हुनु, भण्डारण गरिने ठाउँ राम्रो नहुनु, समयसमयमा उचित हेरचाह र व्यवस्थापन नगरिनु खाद्यान्न बिग्रनुका कारण हुन् । २०७२ सालमा नेपालमा भूकम्पका बेला प्राप्त सहयोग पनि यसरी नै नष्ट भएका थिए । त्यसैले खाद्यान्न संकलन, सुरक्षा र वितरणको चक्रीय प्रणालीलाई सदैव ध्यान दिनु जरुरी छ ।