म्याड्रिड । स्पेनिस सुपर कपको उपाधि एथलेटिक बिल्बाओले जितेको छ । बार्सिलोनाविरुद्ध अतिरिक्त समयमा गोल ठोक्दैन बिल्बाओले उपाधि जितेको हो । खेल अतिरिक्त समयमा जानुअघि दुवैतर्फ २–२ गोल भएको थियो । अन्ततः ३–२ गोलले बार्सिलोनालाई स्तब्ध पार्दै बिल्बाओ च्याम्पियन बन्यो ।
बार्सिलोनाका लियोनल मेस्सीले रातो कार्ड पाएका थिए । बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि रेफ्रीले मेस्सीलाई रातो कार्ड देखाएका थिए । बार्सिलोनाको फुटबल करियरमा मेस्सीको यो पहिलो रातो कार्ड हो ।
अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए । अतिरिक्त समयमा बार्सिलोना १० खेलाडीमा समेटियो । अतिरिक्त समयमा धकेलिनु अघि एन्टोनी ग्रीजम्यानले ४० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, ४२ औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ७७ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर, खेलको ९० औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २–२ को बराबरीमा ल्याएका थिए ।