काठमाडौं । नेपाल प्रहरीले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरी र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलमा एकेडेमी सञ्चालन गर्ने आइतबार सम्झौता भएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापाको उपस्थितिमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर सिंहबीच नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार पुलिस स्कुलमा २१ जना राखिनेछ । जसमा पुलिस स्कुलले ७, एन्फाले देशभरबाट छनोट गर्ने ७ खेलाडी छनोट गर्नेछ ।
पुलिसले ७ र एन्फाले ७ खेलाडीको सम्पूर्ण खर्च बेहोर्ने बताइएको छ । बाँकी ७ जनाले तोकिएको शुल्कसहित एकेडेमीमा बस्न पाउनेछन् । एन्फाले एकेडेमी सञ्चालनका लागि प्राविधिक सहयोग गर्ने बताइएको छ । कार्यक्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, मानार्थ उपाध्यक्ष शिक्षित पराजुली, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य हरि खड्का, लिग कमिटीका प्रमुख विज्ञानराज शर्मालगायतको उपस्थिति थियो ।
त्यस्तै एकेडेमी सञ्चालनका लागि शसस्त्र प्रहरी बल र एन्फाबीच मंसिरमा एकेडेमी सञ्चालनको सम्झौता भएको थियो । अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एन्फाबीच एकेडेमी सञ्चालनका लागि छिट्टै सम्झौता हुने बताइएको छ ।