काठमाडौं । नयाँ चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन सुरु भएको छ । चलचित्रको छायांकन पोखराबाट सुरु भएको हो । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी मन्दिरमा पूजाआजा गरी चलचित्रको शुभमुहूर्त गरिएको हो ।
चलचित्रमा अभिनेता आर्यन सिग्देल मुख्य भूमिकामा छन् । चलचित्रको स्क्रिप्ट मन परेर आफू डिसेम्बर फल्समा अनुबन्धित भएको अभिनेता सिग्देलले बताएका छन् । यसमा नायिकाका रूपमा उपासना सिंह ठकुरी छन् । अनमोल केसीसँग चलचित्र ‘क्याप्टेन’बाट डेब्यु गरेकी उपासनाले ‘कबड्डी कबड्डी कबड्डी’मा काम गरिसकेकी छिन् ।
चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्दै छन् ।
चलचित्रको युट्युब र अस्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एन्ड माइग्रेसन कर्नरले आइतबार नै खरिद गरेको छ । सुटिङ सुरु नहुँदै फिल्मको अस्ट्रेलिया प्रदर्शन र युट्युब राइट महँगो रकममा बिक्री भएको हो । रकमबारे खुलाइएको छैन ।
अस्ट्रेलियामा फिल्म प्रदर्शनका साथै विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्दै आइरहेको एजुकेसन एन्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले ‘डिसेम्बर फल्स’ को टिम, कलाकार तथा विषयवस्तुसमेत अब्बल लागेकाले राइट किनेको जानकारी दिए । १ साउनदेखि नेपाल र अस्ट्रेलियामा एकसाथ चलचित्र प्रदर्शन हुने जानकारी कार्यकारी निर्माता लक्ष्मण रिजालले दिएका छन् ।
चलचित्रलाई प्रवीण झाले निर्देशन गरिरहेका छन् । लामो समयदेखि मुम्बईमा रहेर काम गरेका झाले केही नयाँ शैलीमा चलचित्र निर्देशन गर्न लागेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको यस चलचित्रमा लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता छन् ।
बिपीका खनालको कथा, केदार भुसालको पटकथा र संवाद रहेको यस चलचित्रको छायाकारमा महेश आर गुप्ता छन् । निर्देशक झा र छायाकार गुप्ता भारतीय फिल्म उद्योगका व्यस्त चलचित्रकर्मी हुन् । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको अधिकांश दृश्य पोखरामा खिचिने बताइएको छ ।