काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायत हुँदै नेपाल फर्किएकामध्ये तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय दुई पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो । सो प्रजाति बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बी.१.१.७ वा २० बी-५०१ वाईभी वान रहेको पुष्टि भएको हो । नयाँ प्रजातिको संक्रमण देखिएका तीनै जना पुसमा बेलायत हुँदै नेपाल आएका थिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बेलायतबाट फर्किएकामध्ये ६ जनामा गरिएको कोरोना परीक्षणमा तीन जनामा एस–जिन टार्गेट नेगेटिभ देखिएको बताए । नयाँ प्रजातिको कोरोना संक्रमण देखिएका तीन जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।
‘भाइरसमा उत्परिवर्तन भइरहने भएकाले आफ्नो जीवनशैलीमा परिवर्तन गर्न जरुरी छ । जब भाइरस नयाँ रणनीतिसँग आउँछ, हामीले पनि भाइरसबाट बच्न थप रणनीति अपनाउन जरुरी छ ।’
– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण हुन सक्ने आशंका गर्दै ती तीन वटा नमुना गत २७ पुसमा स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाएको थियो । नेपालमा भ्याक्सिन उपलब्ध नहुँदासम्म कोरोना संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ ।
चिकित्सकका अनुसार भाइरसको अनुवंशमा परिवर्तन भयो भने त्यसलाई म्युटेसन भएको भनिन्छ । आरएनए भाइरसको चरित्र बिस्तारै परिवर्तन एवं नयाँपन हुँदै जाने र भौगोलिक अवस्था तथा प्राणीको फरकपनअनुसार भाइरसको म्युटेसन हुन्छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नयाँ स्वरूपको कोरोना भाइरस तीव्र गतिमा फैलिने बताए । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोनाबाट बच्न सचेत रहनुपर्ने बताए । डा. पाण्डेले भने, ‘भाइरसमा उत्परिवर्तन भइरहने भएकाले आफ्नो जीवनशैलीमा परिवर्तन गर्न जरुरी छ । जब भाइरस नयाँ रणनीतिसँग आउँछ, हामीले पनि भाइरसबाट बच्न थप रणनीति अपनाउन जरुरी छ ।’
डा. पाण्डेले भने, ‘नयाँ प्रजातिको कोरोना भाइरस धेरै संक्रामक भए पनि घातक प्रभाव पुरानो प्रजातिको जस्तै छ । कारण, लक्षण, उपचार तथा रोकथाम समान भएकाले आत्तिनुपर्दैन ।’
विश्व स्वास्थ्य संगठनले नयाँ प्रजातिको जैविक अध्ययन गरिरहेको छ । भाइरस म्युटेसन हुँदा भाइरसको स्पाइक प्रोटिनमा परिवर्तन भएको र सो परिवर्तनको कारण भाइरस मानव कोषमा छिटो संक्रमण हुने विभिन्न अध्ययनले देखाएको छ ।
बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति बेलायतसहित दक्षिण अफ्रिका, भारत, युरोपियन देशलगायत ५० भन्दा बढी देशमा फैलिसकेको छ । यो भाइरस (बी.१.१.७) यसअघिको कोरोना भाइरसभन्दा ५६ देखि ७० प्रतिशत बढी फैलिने अध्ययनहरूले देखाएका छन् ।